विकासका लागि भरपर्दो योजना भएका नेतालाई मात्र भोट

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद्धता र सङ्कल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन् ।

आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दलहरुलाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन । मतदातामा चेतनाको विकास र सामाजिक सञ्जाललगायत क्षेत्रमा भएको विकासले उम्मेदवार र दललाई जवाफदेही बनाउने छन् । पटकपटक आश्वासनमा मतदान गरेका मतदाता यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उम्मेदवारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् ।

निसीखोला गाउँपालिका–६ का ७३ वर्षीय चुनमान घर्तीमगरले जनताका आधारभूत आवश्यकता पूरा गर्ने नेतालाई जिताउनुपर्ने बताए । यसअघिका नेताले आश्वासन मात्रै दिएको उनको गुनासो छ । अहिलेसम्म आफ्नो क्षेत्रमा खानेपानी, शिक्षा र स्वास्थ्यको सहज संविधान नभएको घर्तीमगरको भनाइ छ । चुनावका बेला गरेको बाचा चुनाव सकिएपछि बिर्सिने गरेको उनले बताए ।

“हामीले पटकपटक जितायौँ, उनीहरुले पद पाए, आफ्नालाई जागिर खुवाए, हामीलाई निराशाबाहेक अरु के दिए ?, यसपटक प्रतिबद्धता मात्रै होइन कामको योजनासहित आउने उम्मेदवारलाई मत दिने योजनामा छु”, उनले भने, “आश्वासन पहिला पाइएको हो, अहिले उही त्यहीँ त होला, हामी सोझा साझा जनता जहिले मारमा मात्रै छौँ ।”

ढोरपाटन नगरपालिका–२ की थमकुमारी खत्रीले किसानका समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताए। ग्रामीण सडक बाह्रै महिना सञ्चालन नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट हुने गरेको भन्दै चुनावका बेला धेरै नेताले झुटा आशा मात्रै दिएको उनले गुनासो पोखिन् । धेरै वर्षदेखि गाउँमा खानेपानीको समस्या रहेको भन्दै यसको समाधान अहिलेसम्म हुन नसकेको खत्रीको भनाइ छ ।

उनले भनिन्, “बहुदल आएपछि हामीलाई नेताहरुले पटकपटक झुक्याएर भोट लगे, चुनाव जितेर गएपछि एक पनि गाउँमा फर्किएर आएनन्, गाउँमा कति धेरै समस्या छन्, समस्या समाधान गर्नका कुनै पनि नेताले सकेनन्, यस क्षेत्रका जनता सधैँ भोट दिने मात्रै भयौँ ।”

बडिगाड गाउँपालिका–८ का निमबहादुर विकले दुर्गम गाउँमा विकास गर्ने नेता अहिलेसम्म नपाएको बताए । गाउँका नागरिकले आधारभूत सेवा पाउनबाट वञ्चित रहेको भन्दै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता विकले सुनाए । धेरैको नजर सहर बजारमा मात्रै पर्दा धेरै दुर्गम बस्तीहरु ओझेलमै परेको उनको भनाइ छ ।

“सहर बजारमा त विकास भएको छ, तर गाउँमा भौगोलिक विकटतासँग विकासले ठगेको छ, धेरै नेतालाई जिताएर पठायौँ, उनीहरुको नजर यो क्षेत्रमा परेन”, विकले भने, “सही नेता छन्न नसक्नु हामी जनताको कमजोरी होकी ?, सुरुमा त सबैले यो गर्छु, त्यो गर्छु भन्छन्, गर्लान् भन्ने त हुन्छ तर चुनावपछि नेता नै हराउँछन् ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link