तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’ अमिरिका चौधरी केही बोल्न खोज्छिन् तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन्। उनको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर।
बाहिर देशभर चुनावी र्याली र माइकिङको चर्को आवाज गुञ्जिरहेको छ, चोकचोकमा नारा लागिरहेका छन्। तर लहान–१५ को यो सानो घरभित्र, त्यही कोलाहलले सन्नाटालाई चिर्नुको साटो उल्टै बिझाउने बनाइदिएको छ। मानौँ, बाहिरको उत्सवले यहाँको शून्यतालाई झनै गिज्याइरहेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा गाउँबस्ती चलायमान छ। टोलटोलमा भेला छन्, घरघरमा उम्मेदवारका प्रतिबद्धता। तर अमिरिकाका लागि यी दृश्यहरू उत्सव होइनन्, बरु एउटा पीडादायी पुनरावृत्ति हुन्। हुलमुल र नारा देख्नासाथ उहाँका मन त्यही दिनतिर फर्किन्छ, जहाँबाट उहाँको सिउँदोको सिन्दूर र छोरीको भविष्य सधैँका लागि धुमिल भयो।
लहान–१५ सिमलटोलका २७ वर्षीय विजय चौधरी गत भदौ २३ गते काठमाडौँको नयाँ बानेश्वरमा ‘जेनजी’ आन्दोलनमा सहभागी थिए। सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यको माग गर्दै सडकमा उत्रिएका विजयको छातीमा प्रहरीको गोली लाग्यो। आन्दोलनको पहिलो दिन नै प्रहरीले चलाएको गोली विजयको छातीमा लाग्यो। साथीहरूले उहाँलाई तत्काल सिभिल अस्पताल पुर्याए, तर त्यतिन्जेल उहाँको प्राण गइसकेको थियो।
घरको कान्छो छोरो, जसको काँधमा आमाबुबाको औषधि र छोरीको भविष्य टिकेको थियो, ऊ कहिल्यै नफर्कने गरी अस्तायो। विजय पाँच वर्षदेखि काठमाडौँमा ‘हाउस वायरिङ’को काम गर्थे। उनको कमाइले घर चल्थ्यो। आमाबुबाको औषधि, घरखर्च, छोरीको भविष्य। शान्त स्वभावका विजय कसैसँग झगडा नगर्ने बानी थियो। गाउँमा सबैलाई सम्झाइबुझाइ गर्नुहुन्थ्यो। तर अन्याय र अत्याचारविरुद्ध भने चुप नबस्ने बानी थियो। त्यही विद्रोही चेतले उनलाई सडकको आन्दोलनमा पुर्यायो।
विजयको मृत्युको खबर सुन्नासाथ दाइ अजय चौधरी वैदेशिक रोजगारीबाट फर्किए। तर परिवारले छोराको जिउँदो मुख देख्न पाएन। घटना भएको नौ दिनपछि मात्र सेनाको हेलिकप्टरमार्फत विजयको शव लहान ल्याइयो। घरव्यवहार टार्ने मुख्य सदस्यको शव बुझ्नुको पीडा यो परिवारले अझै भुल्न सकेको छैन।
विजयकी आमा जलेश्वरी देवी अचेल टोलाएर बस्छिन्। मोबाइलमा छोराको फोटो हेरेर चित्त बुझाउने प्रयास गर्छिन्। काखमा सानी नातिनी लिएर टोलाउछिन्। कहिलेकाहीँ त्यही नातिनीले मन बहलाउँछिन्– सहिद विजयले छाडेर गएको अन्तिम चिनो।
छोरी दिवान्सीले बाबाको नाम लिएर खोज्दा अमिरिका चौधरीको मन बेस्सरी पोल्छ। अवोध बालिकालाई कसरी सम्झाउने भन्ने शब्द उनीसँग छैन। त्यही पनि उनी भनिदिन्छिन्, “बाबा काठमाडौँ जानुभएको छ, छिट्टै आउनुहुन्छ।” तर त्यो झुटो आश्वासनले उनको मन अझ भारी बनाउँछ।”
मम्मीभन्दा बढी बाबासँग लुटपुटिएर बस्ने दिवान्सी अचेल हरेक भीडमा, हरेक आवाजमा बाबालाई खोजिरहेकी हुन्छिन्। चुनावी र्यालीका चर्का नाराले, भीडका दृश्यले विजयकी आमालाई पनि पुरानो पीडा झनै ताजा बनाइदिन्छ। “छोरो बाँचेको भए ऊ पनि अरु जस्तै चुनावमा लाग्थ्यो”, विजयकी आमा जलेश्वरीदेवी भन्छिन्, “उनीहरूलाई देख्दा छोराको झल्को आउँछ, सम्हाल्न गाह्रो हुन्छ।”
चुनावी अभियान सुरु भएदेखि अमिरिका चौधरीलाई उकुसमुकुस भएको छ। बाहिर राजनीति चलिरहँदा, उनी भित्रभित्रै आफ्नो जीवन सम्हाल्न सङ्घर्ष गरिरहेकी छिन्। उनी भन्छन्, “जे माग राखेर सहिद भए, ती माग पूरा होउन्। जसले मेरो श्रीमान्लाई मार्यो, उसलाई कानुनी कारबाही होस्। नेपाली जनताले फेरि दुःख नपाऊन्। फेरि आन्दोलन नहोस्। कोही सहिद बन्न नपरोस्।”
नगरपालिकाले उनलाई वडा कार्यालयमा करारको जागिर दिएको छ। त्यसले केही राहत दिएको छ, तर त्यो राहतले विजयको अभाव भरिँदैन। बाहिर चुनावी राजनीति चलिरहेछ, तर यो सहिद परिवार आफ्नै शोकसँग जुधिरहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रसुवागढी बन्द भएपछि मुस्ताङ भन्सार सक्रिय, दैनिक ५० कन्टेनर भित्रिँदै
- जुम्ली स्याउ बोकेका गाडी सडकमै कुहिने जोखिम
- प्रभावित क्षेत्रमा जुट्दै विद्युत् प्राधिकरण: धादिङ र नुवाकोटमा अधिकांश घरमा बिजुली फर्कियो
- प्रिमियर लिग: आर्सनलद्वारा चेल्सी २-१ ले पराजित, ओडेगार्ड र हाभर्ट्जको गोलमा पुनरागमन जित
- भोटेकोशी त्रासदी: आज देशभर राष्ट्रिय शोक
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज
- प्रीमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुलको जित, हालान्डको कीर्तिमानी गोल र इसाकको दोहोरो प्रहार
- भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान
- भोटेकोशी बाढी: १,३३१ को शव फेला, ५ हजार अझै बेपत्ता