चितवन जिल्लाका मुख्य सडकमा हुने स–साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ ।
सामान्य सिमेन्टको बोरामा प्याकिङ गरी राखिने उक्त प्रिमिक्सको आयु कम्तीमा छ महिनासम्म रहने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए । उनले भने “सडक पोटहोलको मर्मत नियमित रूपमा हुने हो । कार्यालयअन्तर्गतका सडकको नियमित मर्मतका लागि कार्यालय मै रेडिमेड प्रिमिक्स निर्माण गरी प्रयोग गरिरहेका छौँ ।”
प्रिमिक्स तयार गर्न बिटुमिन (एमसी–एटर्नेट) प्रयोग गरिन्छ । स्टोन चिप्सलाई करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरामा प्याक गरेर भण्डारण गरिन्छ । आवश्यकता परेको बेला सोही सामग्री प्रयोग गरेर तत्काल मर्मत गर्न सकिने उनको भनाइ छ ।
कम खर्च र कम जनशक्तिमा तयार गर्न सकिने यो प्रविधि आपत्कालीन अवस्थामा विशेष उपयोगी हुने उनले बताए। “सडक विभागमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा विसं २०७६ सालमै रेडिमेड प्रिमिक्स निर्माण सुरु गरेका हौँ,” उनले भने । “यो तयारी अवस्थामा रहने भएकाले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न सकिन्छ र थप पोटहोल बढ्न पाउँदैन ।” अन्य प्रविधिको तुलनामा यो किफायती र टिकाउसमेत भएको कार्यालयको दाबी छ । हाल करिब एक हजार ५०० बोरा प्रिमिक्स तयारी भइरहेको र आवश्यकताअनुसार परिमाण बढाइने उनले जानकारी दिए ।
कार्यालयको लक्ष्य खाल्डाखुल्डी मुक्त सडक बनाउनु रहेको भन्दै उनले जिल्लाको नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी तथा भरतपुर–मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको जानकारी दिए। यहाँका सडक भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले क्षति हुने गरेको उनले बताए । हिउँदभन्दा वर्षामा सडक बढी बिग्रने भएकाले रेडिमेड प्रिमिक्सको आवश्यकता पनि त्यति नै बढी पर्ने उनको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान