निर्वाचनलाई भयरहित बनाउन मुस्ताङमा सेना, सशस्त्र र प्रहरीको संयुक्त सुरक्षा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि मुस्ताङका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ। जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्र बक्स गणमा बुधबारदेखि निर्वाचन सुरक्षा बेस स्थापना भएको जनाएको छ।

सरकारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल बनाउन देशभर सेना परिचालन गर्ने निर्णय भएअनुसार मुस्ताङमा पनि निर्वाचन सुरक्षा बेस स्थापना गरिएको जोमसोमस्थित इन्द्र बक्स गणले जनाएको छ।

निर्वाचन सुरक्षाका लागि स्थापना गरिएको सेनाको सुरक्षा बेस क्याम्पबाट मुस्ताङमा २४ घण्टामा दुई पटक सेनाले गस्ती गर्न थालेको छ। यहाँ सेनाले निर्वाचन सुरक्षाको वातावरणलाई कायम राख्न हतियारसहित सेनाको टोलीले मुख्य बजार तथा ग्रामीण क्षेत्रमा गस्ती गर्न थालेको हो। सेनाले दिन र रातको समयमा निरन्तर निर्वाचन सुरक्षा गस्ती गर्न थालेका हुन्।

इन्द्रबक्स गणका अनुसार माथिल्लो मुस्ताङ क्षेत्रमा लोमान्थाङस्थित थुर्लङ फाँटमा रहेको निर्वाचन सुरक्षा बेसले र तल्लो क्षेत्रमा इन्द्रबक्स गणस्थित निर्वाचन क्षेत्रले सुरक्षा गस्ती गर्ने गरी कार्यक्षेत्र विभाजन गरिएको छ। योसँगै निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न माथिल्लो मुस्ताङस्थित सैनिक निर्वाचन सुरक्षा बेसले निरन्तर गस्ती गर्न थालेको जनाइएको छ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपालले पनि माथिल्लो मुस्ताङको चराङमा सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेस स्थापना गरिसकेको छ। त्यहाँ एक जना सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा २४ जना सशस्त्र र बाँकी ११ जना निर्वाचन प्रहरी खटाउनेगरी ३५ जना सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा टोली तैनाथ गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले २३५ जना र २६६ जना निर्वाचन प्रहरी परिचालन गर्ने जनाएको छ। प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार जिल्लाभित्र र जिल्ला बाहिरबाट यहाँ छनोट भएका निर्वाचन प्रहरीको २८ माघसम्म अनुशिक्षण तालिम सञ्चालन हुने र त्यसपछि जिल्ला प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी युनिटमा खटाइने जानकारी दिनुभयो। खटिएका प्रहरी सुरक्षाकर्मीले मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षा तथा नियमित गस्ती गर्ने कार्यलाई तीव्रता दिने जनाएको छ।

आसन्न निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा गरी ३९ मतदान केन्द्र कायम छन्। पछिल्लो मतदाता नामावली अद्यावधिक हुँदा ११ हजार ३२८ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुस्ताङमा आठ राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link