काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो ।
“औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ”, उहाँले भन्नुभयो, “पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।” सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको जानकारी दिए ।
यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ ।
साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान