टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली

आइसिसी टी-२० विश्वकप २०२६ को समूह चरणका खेलहरूमा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। हिजो भएका तीन खेलमा दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अस्ट्रेलियाले महत्त्वपूर्ण जित हासिल गरेका छन्।

हिजो भएका खेलहरू

दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तान (दोहोरो सुपर ओभर) अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ‘डबल सुपर ओभर’ मा पराजित गर्दै सनसनीपूर्ण जित निकाल्यो। निर्धारित २० ओभरमा दुवै टोलीले १८७ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। पहिलो सुपर ओभर पनि बराबरी भएपछि दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनाउँदै अफगानिस्तानलाई रोक्न सफल भयो। लुङ्गी एन्गिडी ‘प्लेयर अफ द म्याच’ चुनिए।

वेस्ट इन्डिज विरुद्ध इंग्ल्यान्ड मुम्बईको वानखेडे स्टेडियममा भएको समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले साबिक विजेता इंग्ल्यान्डलाई ३० रनले स्तब्ध बनायो। वेस्ट इन्डिजले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा १६६ रनमा समेटियो। वेस्ट इन्डिजका लागि शेर्फान रदरफोर्डले विष्फोटक ब्याटिङ गर्दै प्लेयर अफ द म्याचको अवार्ड जिते।

अस्ट्रेलिया विरुद्ध आयरल्यान्ड कोलम्बोमा भएको खेलमा अस्ट्रेलियाले आयरल्यान्डमाथि ६७ रनको सहज जित हात पार्‍यो। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले १८२ रन बनाएको थियो। जवाफमा आयरल्यान्ड ११५ रनमै अलआउट भयो। अस्ट्रेलियाका लागि नाथन एलिस र एडम जाम्पाले ४-४ विकेट लिए।

आजको खेल : नेपाल विरुद्ध इटाली

टी-२० विश्वकप २०२६ अन्तर्गत आज बिहीबारका लागि तीन वटा महत्त्वपूर्ण खेलहरू तय भएका छन्, जसमा नेपाली क्रिकेट समर्थकहरूको विशेष ध्यान मुम्बईमा हुने नेपाल र इटालीबिचको भिडन्तमा केन्द्रित रहेको छ। मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुने यस खेलमा नेपाल आफ्नो पहिलो जितको खोजीमा मैदान उत्रनेछ। आफ्नो पहिलो खेलमा बलियो टोली इंग्ल्यान्डसँग मात्र ४ रनको झिनो अन्तरले पराजित भएको नेपालका लागि सुपर-८ को दौडमा कायम रहन आजको खेलमा जित निकाल्नु अनिवार्य छ। अर्कोतर्फ, आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको इटाली पनि पुनरागमन गर्ने दाउमा रहनेछ।

यसै गरी, आजको पहिलो खेल बिहान ११:१५ बजे पाल्लेकेले स्टेडियममा श्रीलङ्का र ओमानबिच हुँदैछ भने तेस्रो खेलमा घरेलु टोली भारतले दिल्लीको अरुण जेट्ली स्टेडियममा बेलुकी ७:१५ बजे नामिबियाको सामना गर्ने तालिका रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link