विरोधीहरूको आवाज दबाइन्छ र पश्चिमा जगत अघि बढ्छ

ब्रेट स्टीफन्स

एक पटक मैले जिमी लाईसँग हङकङको एउटा समुद्री किनारमा बसेर उनको जीवनको कथा सुनेको थिएँ।

उनले सुनाएका थिए —कसरी मुख्य भूमि चीनमा कम्युनिस्ट पार्टी सत्तामा आएपछि उनकी आमालाई श्रम शिविरमा लगिएको थियो। कसरी हङकङबाट आएका एक यात्रीले दिएको चकलेटको स्वादले उनलाई एउटा डुङ्गामा लुकेर ब्रिटिस उपनिवेश (हङकङ) भाग्न प्रेरित गर्‍यो। कसरी उनले एउटा पन्जा कारखानाको भुईँबाट काम सुरु गरेर प्रगति गरे र ‘जियोर्डानो’ नामक लुगा कम्पनी स्थापना गरे, जसको नाम न्यु योर्क एउटा पिज्जा पसलको नेप्किनबाट प्रभावित थियो। सन् १९८९ को तियानमेन स्क्वायर नरसंहारले कसरी उनको राजनीतिक सक्रियतालाई प्रज्वलित गर्‍यो। कसरी उनले “एउटा स्याउले झुट बोल्नेहरूलाई टाढा राख्छ” भन्ने नाराका साथ लोकतन्त्र पक्षधर अखबार ‘द एप्पल डेली’ सुरु गरे।

सन् २०२० मा जिमीले न्यु योर्क टाइम्सलाई भनेका थिए- “मलाई विश्वास छ कि मिडियाले सूचना प्रवाह गरेर वास्तवमा स्वतन्त्रता प्रदान गरिरहेको हुन्छ।” यो स्वतन्त्र प्रेसको पक्षमा मैले देखेको अहिलेसम्मकै सबैभन्दा सटिक तर्क हो।

त्यो समुद्री किनारबाट हामी दिउँसोको खाजा खानका लागि गयौँ र राजनीति, राजनीतिक दर्शन र धार्मिक स्वतन्त्रताका बारेमा धेरै कुरा गर्‍यौँ। त्यो सन् २००९ को कुरा थियो जति बेला जिमीले हङकङ सरकारसँग एउटा विवाद जितेको केही वर्ष मात्र भएको थियो, जुन थियो – स्वतन्त्रता मिच्न सुरक्षा कानुन ल्याउन खोजेको। हङकङ सरकारले एउटा यस्तो सुरक्षा कानुन ल्याउन खोजेको थियो जसले हङकङको स्वतन्त्रतालाई समाप्त पार्ने थियो। —ती स्वतन्त्रताहरू जुन सन् १९९७ मा बेलायतले चीनलाई हङकङ हस्तान्तरण गर्दा “एक देश, दुई प्रणाली” को वाचा अन्तर्गत ५० वर्षका लागि ग्यारेन्टी गरिएको थियो।‘

तर त्यति बेलै बेइजिङको सो वाचा पूरा गर्ने कुनै मनसाय थिएन भन्ने स्पष्ट थियो। सि जिनपिङ सत्तामा आएपछि र हङकङका अधिकारहरूमाथि शासनको दमन तीव्र भएपछि यो झन् प्रस्ट भयो। यसको चरमोत्कर्ष सन् २०१९ मा एउटा कठोर सुपुर्दगी कानुन विरुद्धको विशाल विरोध प्रदर्शन, प्रहरीको हिंसात्मक दमन, अर्को वर्ष जिमीको गिरफ्तारी र त्यसको अर्को वर्ष ‘द एप्पल डेली’ बन्द हुनुमा देखियो।

गत सोमबार विगत पाँच वर्षदेखि एकान्त कारावासमा रहेका जिमीलाई २० वर्षको जेल सजाय सुनाइयो, जुन ७८ वर्षका अस्वस्थ व्यक्तिका लागि वास्तवमा आजीवन कारावास सरह हो। ‘एप्पल डेली’ का छ जना पूर्व वरिष्ठ कर्मचारीहरूलाई पनि लामो जेल सजाय दिइएको छ। यो निर्णयको सबैभन्दा उदार व्याख्या यो हुन सक्छ कि सि जिनपिङले आगामी अप्रिलमा बेइजिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दा जिमीलाई व्यापार वार्तामा एउटा ‘बार्गेनिङ चिप’को साधनको रूपमा प्रयोग गर्न चाहन्छन्।तर —यो केवल एक यस्तो चीनको वास्तविकता हो जुन आफ्नो कम्युनिस्ट नेताको नेतृत्वमा पुरानै शैलीमा फर्किएको छ ‘ भन्ने कम उदार व्याख्या हुनसक्छ।

तर यस कथाको अर्को पक्ष पनि छ जुन उत्तिकै निराशाजनक छ।त्यो हो— पश्चिमा जगतले ‘विरोधीहरू’लाई सार्वजनिक मुद्दाको रूपमा त्याग्नु।

४० वा ५० वर्षअघि स्वतन्त्र विश्वले सोभियत सङ्घका सोल्झेनित्सिन, साखारोभशारान्स्की वा मध्य युरोपका बियरम्यान, हावेलवालेसा जस्ता नामहरूको गहिरो चासो राख्थ्यो। सन् २००७ सम्म पनि जर्ज डब्लु बुशले प्रागमा विरोधीहरूको सम्मेलनमा भाग लिएका थिए, जसले स्वतन्त्र समाजको मुद्दालाई केवल ओठे भक्ति मात्र नभई अमेरिकी विदेश नीतिको महत्त्वको रूपमा जोड दिएका थिए।

तर सन् २००८ पछि त्यो बदलियो, जब ‘यथार्थवादी राजनीति’  अमेरिकी विदेश नीतिमा पुनः हाबी भयो। मानिसहरूले बुशको “स्वतन्त्रताको कार्यसूची” लाई इराक युद्धसँग जोडेर हेर्न थाले। उनीहरूले यसलाई कि त अनैतिक युद्ध लुकाउने बहानाको रूपमा देखे,   कि त बाँझो जमिनमा लोकतन्त्र रोप्न सकिन्छ भन्ने अमेरिकी भ्रमको रूपमा। सन् २००९ मा हिलारी क्लिन्टनले विदेश मन्त्रीको रूपमा बेइजिङ भ्रमण गर्दा चीनको मानव अधिकारका मुद्दाहरूले “विश्वव्यापी आर्थिक सङ्कट, जलवायु परिवर्तन सङ्कट र सुरक्षा सङ्कटमा बाधा पुर्‍याउनु हुँदैन” भनेर घोषणा गरिन्।

अर्को शब्दमा भन्नुपर्दा, त्यहाँ लेनदेन गर्नका लागि अन्य महत्त्वपूर्ण कामहरू थिए।

ट्रम्पको नेतृत्वमा अमेरिकी नीति झन् बढी लेनदेनमुखी र अनैतिक बन्यो। राष्ट्रपतिले भ्लादिमिर पुटिनसँगको आफ्नो निकटतालाई रुस र अमेरिका बिचको नैतिक समानता दाबी गर्दै जायज ठहराउँछन्। सन् २०१७ मा फक्स न्युजका बिल ओ’रेलीलाई उनले भनेका थिए- “तपाईँलाई के लाग्छ? हाम्रो देश चाहिँ त्यति निर्दोष छ र?” साथै भेनेजुएला चलाउने ट्रम्पका सबै कुराका बाबजुद त्यहाँको शासनले आफ्ना राजनीतिक विरोधीहरूलाई जेलमा हाल्न जारी राखेको छ भने ट्रम्प प्रशासनले त्यो देशलाई केवल तेलको स्रोतको रूपमा व्यवहार गर्दछ।

यस तुच्छ सांसारिकताले के कुरा बिर्सिरहेको छ भने जिमीको जस्ता मुद्दाहरूले प्रतिनिधित्व गर्ने मानव अधिकारका प्रश्नहरू ‘महत्त्वपूर्ण एजेण्डा’ बाट ध्यान भड्काउने कुराहरू होइनन्। ती आफैँमा मुख्य एजेण्डा हुन्।

आज चीनसँगको हाम्रो टकराब (शीतयुद्धमा सोभियत सङ्घ वा रुससँगको हाम्रो टकराब जस्तै) व्यापारका सर्तहरू वा समुद्री र क्षेत्रीय विवादका बारेमा मात्र होइन। यो राजनीतिक व्यवस्थामा व्यक्तिगत स्वतन्त्रताको स्थानका बारेमा पनि हो। अरू सबै मुद्दाहरू यसैको सहायक हुन्। स्वतन्त्रताको सम्मान गर्नेहरूले आफ्ना मतभेदहरू शान्तिपूर्ण रूपमा समाधान गर्ने उपायहरू खोज्नेछन्। सम्मान नगर्नेहरूले भने खोज्ने छैनन्। पश्चिमा जगतले सि वा पुटिनसँग गर्ने जुनसुकै सम्झौता पनि उनीहरूलाई असुविधाजनक हुने बित्तिकै उल्लङ्घन गरिनेछ।

ट्रम्पको हकमा पनि यही कुरा लागू हुन्छ, जुन कुरा हाम्रा व्यापार साझेदार र सन्धि सहयोगीहरूले गत वर्षभरि अनुभव गरिसकेका छन्।

मार्को रुबियोले सोमबार एउटा संक्षिप्त विज्ञप्ति जारी गर्दै चीनलाई जिमीलाई “मानवीय पेरोल” को माग  गरे। यसले मात्र पुग्दैन। जिमीलाई चाहिएको अधिनायकवादी राज्यको दया होइन। उनलाई त ती सभ्य मानिसहरूद्वारा सञ्चालित विश्वव्यापी अभियान चाहिएको छ, जसले उनीजस्ता विरोधीहरूमा नै निर्दयी शत्रुहरूका विरुद्ध मानव स्वतन्त्रताको औचित्य, यसको कुलीनता र आवश्यकता निहित छ भन्ने कुरा बुझ्दछन्। उनीहरू यो पनि बुझ्दछन् कि ती विरोधीहरू स्वतन्त्र विश्वको सबैभन्दा प्रभावकारी हतियार हुन् किनकि आफ्नै जनताको हृदयमा साहस र विवेकको मिलन हुनुभन्दा खतरनाक कुरा तानाशाहीका लागि अर्को केही हुँदैन।

आशा छ, कुनै दिन हाम्रो यस्तो सरकार हुनेछ जसले यो कुरा बुझ्नेछ।

‘द टाइम्स’ का विचार लेखक ब्रेट स्टीफन्स वैदेशिक नीति, घरेलु राजनीति र सामाजिक-सांस्कृतिक विषयहरूमा कलम चलाउँछन्।

श्रोत: द न्यु योर्क टाइम्स

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link