म्याग्दीको विकासका लागि ‘गेम चेन्जर’ पूर्वाधार

आसन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीका उम्मेदवारहरूले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने वैकल्पिक सडक निर्माणलाई प्रमुख चुनावी मुद्दा बनाएका छन्। हाल प्रयोगमा रहेको बागलुङ खण्डको तुलनामा म्याग्दी हुँदै ढोरपाटन पुग्ने यो मार्ग करिब ६५ देखि ७० किलोमिटर छोटो हुने स्थानीयको दाबी छ।

बागलुङबाट ढोरपाटनको दूरी १२६ किलोमिटर रहेकामा बेनीबाट मुना–खोरिया–मरेनी हुँदै जलजलासम्मको ६४ किलोमिटर मार्ग खुलिसकेको छ। अब पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म मात्र ८ किलोमिटर सडक जोडिन बाँकी रहेकाले यसलाई मध्यपहाडी लोकमार्गको छोटो र वैकल्पिक मार्गका रूपमा अघि सारिएको छ।

पूर्वाधार विकासकै प्राथमिकतामा बेनीबाट सुरु भई घतान, पात्लेखेत, झिँ, पाखापानी, कुइँनेमङ्गले, मल्कवाङ, मराङ, बिम र दरबाङ हुँदै पुनः बेनीसम्म जोडिने ‘राहुघाट–म्याग्दी चक्रपथ’ आयोजना पनि परेको छ। जिल्लाका पाँच वटा स्थानीय तहलाई समेट्ने यो सडकले राहुघाट र म्याग्दी कोरिडोरको समग्र विकासमा टेवा पुऱ्याउने विश्वास गरिएको छ।

बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नतिले मुस्ताङमा वार्षिक आठ लाख पर्यटक भित्रिँदा जिल्लाले पाएको लाभलाई मध्यनजर गर्दै, पश्चिमी क्षेत्रमा पनि यस्तै पूर्वाधार विकास गरेर बसाइसराइ रोक्ने र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उम्मेदवारहरूको लक्ष्य छ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई लक्षित गरी बनाइने यो सडकले पर्यटकीय र धार्मिक हिसाबले मात्र नभई सामाजिक-आर्थिक रूपान्तरणमा पनि ठुलो भूमिका खेल्ने देखिएको छ। हाल प्रदेश सरकारले दरबाङदेखि ताकम मुनासम्मको १७ किलोमिटर सडक स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरेको छ। यस सडकलाई म्याग्दीको ‘लाइफ लाइन’ मान्दै ढोरपाटन र पूर्वी रुकुम जोड्ने विषय अहिले जिल्लाका सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा मुद्दा बनेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link