म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्रे गरिएको हो।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक दुई लेनको बनाएर कालोपत्रे गर्न २०७७ साल चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो।
तेह्र किलोमिटर दूरीको सडकमध्ये ९६० मिटरबाहेकका ठाउँमा कालोपत्रे र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए। “ढलान र कालोपत्रे सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ”, उनले भने, “वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक–एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ।”
वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको असहमति तथा फर्से र केराबारीमा पहिरोका कारण ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख शर्माले बताउनुभयो। विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य थियो।
सडक निर्माण कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए।
यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्रे र दुई किलोमिटर २०० मिटर ढलान भएको थियो। गत मङ्सिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर ५०० मिटर सडक कालोपत्रे गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताए।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्। ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा एकतर्फी कालोपत्रे भएको थियो। मुस्ताङ र कोरलानाका सडक सञ्जालमा जोडिएपछि यातायातका साधनको चाप बढ्दा साँघुरो यो सडक पछिल्लो समय जीर्ण बनेको थियो।
यातायात व्यवसायी बुद्धि पुनले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टाको यात्रा अवधि स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको बताए। “पछिल्लो पाँच वर्षयता पोखरा–बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङ हुँदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडकको यात्रा गर्दै आएका थियौँ”, उनले भने, “घुमाउरो सडकमा यात्रा गर्नुपर्ने समस्या हट्नुका साथै यात्रा अवधि पनि छोटिएको छ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर