चितवनको व्यावसायिक एभोकाडो खेतीमा संक्रामक रोग

चितवन जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको एभोकाडो खेतीमा पछिल्लो समय गम्भीर प्रकारको रोगको सङ्क्रमण देखिएपछि किसानहरू समस्यामा परेका छन्। जिल्लाको पूर्वी र पश्चिम दुवै भेगका एभोकाडो बगानहरूमा ‘क्याङ्कर’ अर्थात् खटिराजन्य रोग फैलिएको पाइएको हो।

कृषि विकास कार्यालय चितवनका अनुसार यो जिल्लामै पहिलो पटक देखिएको अनौठो र घातक समस्या हो, जसले गर्दा भर्खरै फस्टाउँदै गरेको एभोकाडो खेती सङ्कटमा पर्ने देखिएको छ। कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार यो रोग मुख्यगरी ढुसीजन्य सङ्क्रमणका कारण देखिएको हो।

उनले यस रोगको प्रकृति र यसले पारेको प्रभावबारे सूक्ष्म अध्ययन भइरहेको र थप परीक्षणका लागि नमूनाहरू पठाइएको जानकारी दिएकी छन्। प्रारम्भिक अध्ययनले ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण यो रोग लाग्ने पुष्टि गरेको छ। यो जीवाणु विशेषगरी माटो र पानीको माध्यमबाट एक बोटदेखि अर्को बोटसम्म तीव्र गतिमा फैलने गर्दछ।

रोग लागेका बोटहरूमा सुरुमा हाँगाहरू ओइलाउने र मर्ने लक्षण देखिन्छन् भने बिस्तारै पुरै बुटै सुकेर जाने जोखिम रहन्छ। बोटको काण्ड र हाँगाहरूमा घाउ तथा खटिराहरू देखिनु यसको मुख्य पहिचान हो। यस्तो समस्या देखिएपछि कृषि प्राविधिकहरूले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

बगैँचामा सिँचाइ गर्दा सिधै बोटको फेदमा पानी नजमाउन र बोटमा घाउचोट लाग्न नदिन सावधानी अपनाउनुपर्ने सुझाव दिइएको छ। यदि बोटमा घाउ वा खटिरा देखिएमा तत्काल ‘बोडोपेष्ट’ लगाउनु पर्ने र रोग नियन्त्रणका लागि उचित ढुसिनासक औषधिको प्रयोग गर्नुपर्ने प्राविधिकहरूको भनाइ छ।

चितवनमा एभोकाडो खेती तुलनात्मक रूपमा नयाँ भए पनि यसको व्यावसायिक विस्तार तीव्र गतिमा भइरहेको थियो। हाल जिल्लाको करिब ६.५ हेक्टर क्षेत्रफलमा यो खेती फैलिएको छ, जहाँबाट वार्षिक ५१ मेट्रिक टनसम्म उत्पादन हुने गरेको तथ्याङ्क छ। तर, सुरुवातमै यस्तो संक्रामक रोग देखिएपछि उत्पादनमा भारी गिरावट आउने र लगानी डुब्ने डरले किसानहरू त्रसित बनेका छन्।

बगैँचाको नियमित सरसफाइ र सिँचाइ व्यवस्थापनमा ध्यान दिन सके यो रोगबाट बोटलाई जोगाउन सकिने भएकाले कृषि कार्यालयले किसानहरूलाई प्राविधिक परामर्श लिन सूचित गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link