शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।
शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले क्षति पुर्याउँदै आएको छ। मरघटिया शिविरकी देवकी राना र उनका श्रीमान् दानसिंह रानाले रातिको समयमा हात्ती घरमै पसेपछि भागेर ज्यान जोगाए। दुई दिनअघि राति खाना खाएर सुतिरहेका बेला कच्ची घरको भित्तामा ठूलो आवाज आएपछि झस्किएका उनीहरूले बाहिर निस्केर ज्यान जोगाएका थिए।
“घाँसको बार भत्काएर हात्तीले सुड घरभित्र छिरायो,” देवकीले भनिन्, “नभागेको भए के हुन्थ्यो भन्न सकिँदैन।” उहाँका अनुसार घरमा भर्खरै भित्राएको दुई बोरा चामल, दश किलो मसुरको दाल र पाँच किलो हल्दी हात्तीले खाएर नष्ट पारेको छ।
स्थानीयका अनुसार छावा सहितको हात्तीको ठूलो बथान बस्तीमा पसेको थियो। केही हात्ती बस्ती हुँदै निकुञ्ज फर्किए पनि दुई वटा हात्तीले घर भत्काएर अन्नपात सखाप पारेका थिए।
वैशाखा शिविरमा पनि हात्तीले खेतबालीमा क्षति पुर्याएको छ। किसान विखलु चौधरीका अनुसार चार दिनदेखि निरन्तर साँझ पर्नासाथ हात्ती खेतमा पस्ने गरेका छन्। “गहुँमा बाला लाग्न थालेको छ,” उनले भने, “तर हात्तीले पाक्न नदिई खाइरहेका छन्।”
उनका अनुसार आफ्नो दश कठ्ठा जमिनको गहुँबाली नष्ट भएको छ, भने आठजना किसानको झण्डै दुई बिघा क्षेत्रफलमा लगाइएको गहुँ चार दिनमै सखाप भएको छ। हात्ती साँझ नपर्दै खेतमा पसी बिहानपख मात्रै निकुञ्ज फर्किने गरेको स्थानीयले बताएका छन् ।स्थानीय अवज सिंह धामीले हात्ती नियन्त्रणका लागि वडा कार्यालय र निकुञ्ज प्रशासनमा जानकारी गराइएको भए पनि प्रभावकारी पहल नभएको गुनासो गरे। “रातभरि त्रासमै बस्नुपरेको छ,” उनले भने, “कहिले घरमै छिर्छन् भन्ने डर छ।”
निकुञ्जसँग सटिएका मरघटिया र वैशाखा शिविरमा हरेक वर्ष हात्तीले बालीनाली तथा भौतिक संरचनामा क्षति पुर्याउने समस्या दोहोरिने गरेको छ। बाली पाक्ने समयमा हात्तीको आवतजावत झन् बढ्ने गरेको स्थानीयको अनुभव छ।
बस्तीका अगुवा सुम्ला रानाले वन्यजन्तु संरक्षण आवश्यक भए पनि मानव सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए। “संरक्षणसँगै सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्छ,” उनले भने।
स्थानीयले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार, सोलार बत्ती, सायरन जडान लगायतको माग गरेका छन्। मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उनीहरुको भनाइ रहेको छ।
स्थानीयका अनुसार समयमै प्रभावकारी कदम नचालिए दोहोरिँदै आएका यस्ता घटनाले कुनै पनि बेला ठूलो मानवीय क्षति निम्त्याउन सक्ने जोखिम बढ्दै गएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान