कैलाली र कञ्चनपुरका राना थारु समुदायको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने होली पर्व रङको उत्सव मात्र नभई धार्मिक आस्था, सामाजिक एकता र परम्परागत अभ्यासको आधार पनि हो। पछिल्ला वर्षमा आधुनिक प्रभाव र देखासिकी प्रवृत्तिका कारण यसको मौलिकता क्रमशः हराउँदै गएको छ।
शुक्लाफाँटा नगरपालिका–६, कसरौलका मुनिराम रानाका अनुसार राना थारुहरूको होली पर्व समुदायको इतिहास र धार्मिक विश्वासको सजीव दस्ताबेज हो। “पहिला होली गाउँभित्रै सीमित हुन्थ्यो”, मुनिरामले भने, “हरेक घरमा परम्परागत विधिअनुसार होली खेलिन्थ्यो, जसको घरमा खेलिन्थ्यो, त्यहीँ रमाइलो हुन्थ्यो, त्यहीँ पकाइएको खाना खाइन्थ्यो।”
पहिलाको होलीमा सगुनका रूपमा भेली दिने, फगुवास्वरूप केही रकम आदानप्रदान गर्ने चलन थियो। सम्पन्न परिवारले मासु र दालभात खुवाउँथे भने आर्थिक अवस्था कमजोर परिवारले आफ्नो सीमाभित्र दालभात खुवाएर अतिथि सत्कार गर्थे। सबैभन्दा महत्वपूर्ण कुरा धन सम्पत्ति होइन, सामुदायिक सद्भाव र सांस्कृतिक निरन्तरता रहेको उनी बताउँछन्।
आजको अवस्था भने फरक छ। मुनिराम रानाले व्याख्या गर्दै भने, “अहिले होली गाउँमै सीमित छैन, बजार क्षेत्र, सार्वजनिकस्थल र पैसा कमाउने माध्यमका रूपमा होली खेलिन थालेको छ यो हाम्रो मौलिक चलन होइन।”
पूर्ववडाध्यक्ष जगता रानाले यस्तै कुरा जोड्दै भने, “पहिला धार्मिक कथा, देवीदेवताको प्रसङ्ग र सामाजिक सन्देश बोकेका गीत गाइन्थे, अहिले नयाँ शैलीका गीत र नाचगानले पुराना गीत विस्थापित गरिरहेका छन्।”
राना थारु समुदायमा होली केबल एक दिनको पर्व होइन। कसरौला गाउँका ७१ वर्षीय चन्द्रसेन रानाका अनुसार माघ शुक्ल पूर्णिमादेखि नै होलीको प्रतीक स्थापना गरी पर्वको सुरुआत गरिन्छ। गाउँको दक्षिण–पूर्व दिशामा प्रतीक राखिन्छ र त्यसपछि एक महिनासम्म प्रत्येक रात महिला र पुरुष भेला भएर ‘जिउँदो होली’ खेल्छन्।
यस अवधिमा भगवान्का कथा, धार्मिक आख्यान र सामाजिक प्रसङ्ग गीतमा ढालेर प्रस्तुत गरिन्छ। गीतको नेतृत्व गर्ने महिलालाई ‘मोढी’ भनिन्छ भने उनलाई पछ्याएर गाउनेलाई ‘पिछडिया’ भनिन्छ। ढोलक बजाउनेलाई ‘ढोलिया’ भनिने चलन छ।
फागुन शुक्ल पूर्णिमाका दिन होलिका दहन गरिन्छ। त्यसको भोलिपल्ट मात्र खरानीको टीका लगाइन्छ। त्यसअघि टीका लगाइँदैन। त्यसपछि सात दिनसम्म ‘मरेकी होली’ खेलिन्छ भने आठौँ दिन बेलुका ‘खखडेहरा’ नामक विशेष विधि सम्पन्न गरिन्छ। यस क्रममा खप्टा, घल्ला र घोडाका माटोका प्रतिमा फोडिन्छन्। यो कार्य गाउँका सीमित अगुवा व्यक्तिले मात्र गर्ने चलन छ। विश्वासअनुसार यसरी गर्दा दुष्टात्मा गाउँमा प्रवेश गर्न सक्दैन। फोड्ने कार्य सम्पन्न गरेर फर्कँदा पछाडि फर्केर हेर्न नहुने मान्यता छ, हेरेमा दुष्टात्मा पुनः फर्कने विश्वास छ।
पुरुषको होली त्यहीँबाट समाप्त हुन्छ भने महिलाको होली चैत चराईसम्म जारी रहन्छ। यसरी होली पर्व धार्मिक आस्था, सामाजिक संरचना र सांस्कृतिक अभ्यासको सङ्गमका रूपमा विकसित भएको देखिन्छ।
राना थारु समुदायको होलीसँग मौलिक पहिरन र गहनाको गहिरो सम्बन्ध छ। उनान्नसत्तरी वर्षीय रामकली रानाले भनिन्, “पहिलाको होलीमा महिलाले लगाउने घँघरिया, अँगिया, फतुई, उढनियाजस्ता घरमै बुनेका कपडा, शिरदेखि पाउसम्मका गहना समाजमा उच्च सम्मानको सूचक हुन्थ्यो।”
महिलाले कपालमा चाँदीको चाँबी, कानमा वीर, नक्बेसर, नथुनी, घाँटीमा चाँदीको धागो, कठुला–हसुला, कण्ठ–गरिया, घिच्ची, पाखुरामा लगौरा, नाडीमा पुग्ने गहना, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कँधनी, पैँतलामाथि ढुन्नी र पायल लगाउने चलन थियो। “यसरी सजिएकी महिलालाई समाजले सभ्य र संस्कारयुक्त मान्दथ्यो”, उनले जोड दिँदै भनिन्। आज ती परम्परागत गहना र पहिरन सीमित महिलासँग मात्र बाँकी छन्। बजारमा पाइने आधुनिक गहनाले परम्परागत गहनाको स्थान लिन थालेको छ। पुरुषले प्रयोग गर्ने झगिया, फेटा र हातमा बिल्ला लगाउने चलन पनि हराउँदै गएको छ। केही वर्षदेखि महिलाको पहिरन जोगाउने प्रयास भए पनि पुरुषको पहिरन जोगाउन चुनौती अझै छ।
समुदायका बुढापाकाले होलीका पुराना गीत लिपिबद्ध नहुँदा हराउने जोखिम बढेको बताउँछन्। मौखिक परम्परामा आधारित गीत नयाँ पुस्तासम्म हस्तान्तरण हुन नसक्दा सांस्कृतिक निरन्तरता कमजोर भएको छ। रामसहाय रानाका अनुसार होलीलाई मौलिक स्वरूपमै जोगाउन सामुदायिक पहल आवश्यक छ। “हामी राना थारु भएको कुरा चिनाउने नै हाम्रो फरक संस्कृति हो, संस्कृति हरायो भने पहिचान नै गुम्छ”, उनले भने।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर