चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले कृत्रिम ताल निर्माण गरिएको छ। पछिल्लो समय सुक्खायाममा निकुञ्जभित्रका प्राकृतिक तालतलैया सुक्ने क्रम बढ्दै गएपछि निकुञ्जले वन्यजन्तु संरक्षणका लागि विभिन्न दाताको सहयोगमा कृत्रिम ताल निर्माण गर्दै आएको छ।
विसं २०३० असोज ४ गते स्थापना भएको उक्त निकुञ्ज बाघ, हात्ती, गैँडालगायत वन्यजन्तुको महत्त्वपूर्ण वासस्थानको रूपमा रहेको छ। मानवलाई जस्तै वन्यजन्तुलाई पनि बाँच्नका लागि आहार र पानीको आवश्यकता पर्ने भन्दै सुक्खायाममा पानीको अभाव पूर्ति गर्न कृत्रिम ताल निर्माण गरिएको हो। पछिल्लो समय निकुञ्जभित्रका घाँसेमैदान, सिमसार क्षेत्र मासिँदै गएपछि वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएकाले निकुञ्जले कृत्रिम ताल निर्माण गरी वन्यजन्तु संरक्षणमा पहल गरेको हो।
निकुञ्जका प्राकृतिक ताल र सिमसार क्षेत्रमा देखिएको समस्यालाई ध्यानमा राखेर घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापनमा निकुञ्ज लागिपरेको छ। चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअन्तर्गत सुखीभार पोष्ट नजिकै कृत्रिम ताल निर्माण गरेको हो। सुक्खायाममा पानीको अभावलाई पूरा गर्न ९७ मिटर लम्बाइ र २५ मिटर चौडाइको सौर्य ऊर्जा जडानसहितको ताल निर्माण गरेको निकुञ्जले जनाएको छ।
कृत्रिम तालबाट करिब एक सय मिटर पर वर्षभरि बग्ने खोल्सोबाट सोलार बोरिङ जडान गरिएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रविन पौडेलले बताए।
“खोल्साबाट घाम लागेको बेला सोलारमार्फत पम्पिङ भएर पानी तालमा आइपुग्छ”, संरक्षण अधिकृत पौडेलले भने, “प्राकृतिक स्रोतबाट मात्रै निकुञ्जभित्रको तालमा पर्याप्त पानी नभएपछि सुक्खायाममा पानीको अभावलाई पूर्ति गर्न यस्तो किसिमको कृत्रिम ताल निर्माण गरिएको हो।”
चालु आर्थिक वर्षमा निकुञ्जले निर्माण गरेको यो पहिलो ताल भएको पौडेलको भनाइ छ। निकुञ्जले तराई भू–परिधि (ताल) कार्यक्रमको सहकार्यमा करिब रु नौ लाख लागतमा कृत्रिम ताल निर्माण गरेको उनले जानकारी दिए। यस्ता कृत्रिम ताल निकुञ्जले निकुञ्जको मुख्यालय कसरा नजिकै पनि निर्माण गरिएको छ। त्यसअघि भिम्ले पोष्ट नजिकै पनि सोलारसहितको ताल निर्माण गरिएको थियो।
केही कृत्रिम ताल निर्माण गरिए पनि निकुञ्जभित्र रहेका तालतलैयाको संरक्षणमा भने निकुञ्जले कठिनाइ भोग्दै आइरहेको छ। ताल संरक्षणका लागि आवश्यक बजेट नहुँदा निकुञ्जभित्र रहेका प्राकृतिक तालहरू नन्द भाउजु, देवी ताललगायतका सिमसार क्षेत्र अहिले सङ्कटमा रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले बताए।
वन्यजन्तुको सङ्ख्या बढाउन उनीहरूको व्यवस्थित वासस्थानको निकै महत्त्व हुने उहाँको भनाइ छ। निकुञ्जभित्रका घाँसेमैदान र सिमसार क्षेत्र राम्रो नहुँदा यहाँ आश्रित वन्यजन्तु व्यवस्थापनमा कठिनाइ हुने गरेको छ। त्यसैका लागि चितवन राष्ट्रिय निकुञ्जले कृत्रिम सिमसार क्षेत्र निर्माण गर्न थालेको प्रमुख संरक्षण अधिकृत पन्तको भनाइ छ। यस वर्ष थप सिमसार क्षेत्र निर्माण गर्ने तयारी निकुञ्जको छ। तर पुराना सिमसार क्षेत्रको संरक्षणमा भने कठिनाइ भइरहेको उनले बताए।
“हामीसँग तालतलैया संरक्षणका लागि यस पटक सरकारी बजेट पनि भएन, दाताहरूबाट पनि धेरै बजेट आएन, बजेट नहुँदा सिमसार क्षेत्रको संरक्षणमा चुनौती थपिएको छ”, प्रमुख संरक्षण अधिकृत पन्तले भने, “आगामी वर्ष दाताहरूकै सहयोगमा सङ्कटमा परेका सिमसार क्षेत्र संरक्षणका लागि कार्यक्रम तयार पार्दै छौँ।”
संरक्षणकै अभावमा लगभग लोप हुने अवस्थामा पुगेको तमोर ताल, लामी तालले अहिले पुनः जीवन पाएका छन्। पछिल्लो वर्षमा गरिएका सरसफाइले यी ताल जोगिएका उनले बताए। बजेट अभावका कारण विगतमा चर्चित रहेको नन्द भाउजु ताललगायतका सिमसार क्षेत्र अझै सङ्कटमा छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन, पर्सा र मकवानपुरको करिब ९५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गौरका लागि महत्त्वपूर्ण बासस्थानका रूपमा रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर