आईपीएल २०२६: उद्घाटन खेलमा आरसीबीको सानदार जित, हैदराबाद ६ विकेटले पराजित

टाटा आईपीएल २०२६ को रोमाञ्चक उद्घाटन खेलमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले सनराइजर्स हैदराबाद (SRH) लाई ६ विकेटले पराजित गर्दै आफ्नो उपाधि रक्षाको यात्रा सुखद सुरुवात गरेको छ। बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसीबीले २०२ रनको विशाल लक्ष्य मात्र १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

आरसीबीको जितमा ओपनर विराट कोहली र देवदत्त पडिक्कलले उत्कृष्ट प्रदर्शन गरे। पडिक्कलले मात्र २६ बलमा ६१ रनको आक्रामक इनिङ खेले भने ‘चेज मास्टर’ विराट कोहली ३८ बलमा ६९ रन बनाउँदै अविजित रहे। कोहलीले आफ्नो इनिङमा ५ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई सहजै जित दिलाए। कप्तान रजत पाटीदारले पनि मात्र १२ बलमा ३१ रनको महत्त्वपूर्ण योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो। सुरुवातमा २९ रनमै ३ विकेट गुमाएर सङ्कटमा परेको हैदराबादलाई कार्यवाहक कप्तान इशान किशनले ८० रन (३८ बल) को विष्फोटक इनिङ खेलेर उकासेका थिए। अन्त्यमा अनिकेत वर्माले १८ बलमा ४३ रनको योगदान दिँदै टोलीलाई २०० रनको आँकडा पार गराएका थिए।

आरसीबीका लागि डेब्यु गरेका न्युजिल्यान्डका बलर ज्याकोब डफी खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए। उनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिएका थिए। रोमारियो शेफर्डले पनि ५४ रन खर्चिए पनि ३ विकेट चट्काए।

हैदराबादका बलरहरू आरसीबीका ब्याटरहरू सामु निरीह देखिए। जयदेव उनादकट र डेभिड पेनेले विकेट लिए पनि रनको गति रोक्न सकेनन्।

यो जितसँगै आरसीबीले तालिकामा २ अङ्क जोडेको छ। ११ जना आरसीबी समर्थकहरूको सम्झनामा ११ सिट खाली राखिएको यस भावनात्मक खेलमा घरेलु टोलीको जितले समर्थकहरूलाई थप उत्साहित बनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link