मुम्बई इन्डियन्सले आइपिएल २०२६ को आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ। आइतबार मुम्बईको वानखेडे स्टेडियममा भएको रोमाञ्चक खेलमा मुम्बईले २२१ रनको विशाल लक्ष्य ५ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो।
यस जितसँगै मुम्बईले सन् २०१२ देखि आफ्नो सिजनको पहिलो खेल हार्दै आएको १४ वर्ष लामो ‘अँध्यारो इतिहास’ लाई पनि तोडेको छ।
२२१ रनको कठिन लक्ष्य पछ्याएको मुम्बईका लागि ओपनर रोहित शर्मा र रायन रिकेल्टनले विष्फोटक सुरुवात दिलाए। यी दुईबिच पहिलो विकेटका लागि मात्र ११.५ ओभरमा १४८ रनको साझेदारी भयो। रोहितले आफ्नो लयलाई निरन्तरता दिँदै ३८ बलमा ६ चौका र ६ छक्काको मद्दतले ७८ रन बनाए। यो उनको आइपिएल करियरको ५०औँ ५०+ स्कोर समेत हो।
अर्कोतर्फ, रायन रिकेल्टनले आक्रामक ब्याटिङ गर्दै ४३ बलमा ८१ रन जोडे, जसमा ८ वटा छक्का र ४ चौका सामेल थिए। उनी रन आउट हुनुअघि मुम्बईलाई जितको नजिक पुर्याइसकेका थिए। मध्य क्रममा तिलक वर्माले २० र सूर्यकुमार यादवले १६ रन जोडे भने कप्तान हार्दिक पाण्ड्या (१८*) र नमन धिर (५*) ले टोलीलाई जितसम्म पुर्याए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२० रन बनाएको थियो। कोलकाताका लागि कप्तान अजिङ्क्य रहाणेले ४० बलमा ६७ रनको सानदार इनिङ खेले। त्यस्तै, युवा खेलाडी अङ्कृष रघुवंशीले मात्र २९ बलमा ५१ रन बनाउँदै सबैको ध्यान खिचे।
ओपनर फिन एलेनले १७ बलमा ३७ रनको विष्फोटक पारी खेले भने रिङ्कु सिंहले अविजित ३३ रन जोडेर टोलीलाई विशाल योगफलमा पुर्याएका थिए।
मुम्बईका लागि पहिलो खेल खेलिरहेका सार्दुल ठाकुर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ४ ओभरमा ३९ रन खर्चेर फिन एलेन, क्यामरुन ग्रीन र अजिङ्क्य रहाणे जस्ता महत्त्वपूर्ण ३ विकेट लिए। ब्याटिङमैत्री पिचमा सार्दुलको बलिङले कोलकाताको रनको गतिमा केही अंकुश लगाएको थियो। जसप्रित बुमराहले विकेट लिन नसके पनि ४ ओभरमा ३५ रन मात्र खर्चेर किफायती बलिङ गरे।
यस जितले मुम्बई इन्डियन्सलाई नयाँ सिजनका लागि ठुलो आत्मविश्वास प्रदान गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर