म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को चलन छ । चैत महिनाको उजेली मंगलवारका दिन भूमे पूजा गर्ने प्रचलन छ । मंगलबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुक, बेग र अन्नपूर्ण गाउँपालिका–१ दोबामा भूमे पूजा गरिएको छ ।
प्राकृतिक अनिष्टलाई पार लगाउन र प्रकृतिलाई खुसी बनाउनका लागि मगर समुदायले सांस्कृतिक उत्सवको रुपमा भूमे पूजालाई मनाउने गर्छन् । स्थानीयले अन्नबालीको उब्जनी राम्रो हुने र प्राकृतिक विपत्तिका घटना नहोस् भन्ने कामना गरी भूमे देवताको पूजाआजा गर्ने चलन रहेको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङका बेगबहादुर पूर्जाले बताए ।
पृथ्वीको सबैभन्दा महत्वपूर्ण ठाउँ भूमि भएकाले भूमिको सम्मान र देवीदेवतालाई खुसी बनाउन परम्परागत रुपमा चल्दै आएका भूमे पूजालाई निरन्तरता दिने गरिएको पूर्जाको भनाइ छ । बाँदुकको भूमे थानमा भूमे पूजाले भूमेप्रतिको गढेको आस्था र विश्वासले हरेक वर्ष यसको महत्व बढ्दै गएको बताए ।
‘‘पूर्खादेखि नै भूमे पूजालाई महत्व दिँदै आइएको छ, शुभकार्यदेखि गाह्रो अप्ठ्यारो पर्दा हामीले भूमेलाई नै सम्झने गर्छौँ, हरेक वर्षको एक पटक जो जहाँ भए पनि भूमे पूजामा सामेल हुन गाउँ फर्कने चलन छ’’, पूर्जाले भने ।
स्थानीयले आफ्नो मनोकांक्षा पूरा गराउन भूमेलाई सम्झिएर भाकल गर्ने र पूजाको दिनमा आफूले गरेको भाकलको बलिदिएर भूमे देवतालाई खुसी बनाउने गरिन्छ । सिंगो गाउँका स्थानीय धोजापतका र नौमती बाजाका साथमा हर्षोउल्लाहससहित भूमे थानमा पुगेर आआफ्नो संस्कार तथा परम्पराअनुसार पूजा गर्ने गरिन्छ । मगर समुदायमा भूमे पूजालाई अन्य चाडपर्वभन्दा बढी महत्व दिएर देशका विभिन्न ठाउँ तथा विदेशमा पुगेका गाउँ फर्कने चलन रहेको बेगका वडा अध्यक्ष विलबहादुर फगामीले बताए ।
अध्यक्ष फगामीका अनुसार सांस्कृतिक उत्सवको रुपमा मनाइने भूमे पूजामा सहभागी हुन गाउँ फर्किएकाको जमघटले गाउँमा चहलपहल बढेको छ । मगर समुदायको बाहुल्य बसोबास रहेका ठाउँहरुमा चैतदेखि जेठसम्म उजेली मंगलबार पारेर फरकफरक दिन भूमे पूजा हुँदै आएको छ । म्याग्दीको दोबामा भूमे पूजालाई परम्पराको निरन्तरता र मौलिकताको जगेर्ना गर्ने गरी मनाउने गरिएको छ । भूमे पूजासँगै सोरठी, यानीमाया, भैचसाइलोलगायत पुराना भाकाहरु गुञ्जिने र पुख्र्यौली नाचहरु प्रदर्शन हुने भएकाले भूमे पूजाले सांस्कृतिक महत्व बोकेको दोवामा रहेको हातेमालो आमा समूहका अध्यक्ष बोमाया गर्बुजाले बताए ।
हरेक गाउँमा भूमे पूर्जाको दोस्रो दिन पुख्र्यौली संस्कृतिको प्रदर्शनसँगै महिलाहरुले जात्रा देखाउने चलन रहेको छ । भूमे देवतालाई कोदो र चामलको विधिपूर्वक तयार गरिएको जाँड र छ्याङ मुख्य प्रसादको रुपमा चढाउने गरिन्छ । भाकल गरेकाहरुले आफ्नो मनोकांक्षा पूरा भएमा ठाउँअनुसार कुखुरा, बोका, साँढ, राँगालगायतको बली दिने चलन रहेको छ । भूमे पूजाको अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुती राख्ने भएकाले स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरु भूमे पूजामा रमाउन पुग्ने गर्छन् । म्याग्दीको दग्नाम, दर्मिजा, चिमखोला, झिँ, पाखा पानीलगायतका ठाउँमा भूमे पूजालाई उत्सवको रुपमा मनाउने चलन छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर