गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २:०० बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानबमोजिम आजका लागि दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायतका सम्पूर्ण तयारीहरू पूरा भइसकेका छन्। राष्ट्रियसभाको बैठक भने सचिवालयकै पुरानो राष्ट्रियसभा कक्षमा बस्नेछ।

काठमाडौँ, १२ चैत :
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सपथ ग्रहण
सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद भवनमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुँदै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू ।
निर्वाचन परिणाम र दलीय उपस्थिति
निर्वाचन आयोगले गत चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा यस पटक दलीय समीकरणमा ठुलो फेरबदल देखिएको छ। सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सबैभन्दा ठुलो दलको रूपमा उपस्थित छ। अन्य दलहरूमा:
- नेपाली कांग्रेस: ३८ सिट
- नेपाल कम्युनिष्ट पार्टी (एमाले): २५ सिट
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा): १७ सिट
- श्रम संस्कृति पार्टी: ७ सिट
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ५ सिट
- स्वतन्त्र: १ सिट
आजको सम्भावित कार्यसूची
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा आठ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन्। बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनुहुनेछ।
बैठकको मुख्य आकर्षणको रूपमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेशहरू पेस गर्ने कार्यक्रम छ। जसमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ रहेका छन्।
यसै गरी, बैठकमा दलीय आधारमा सदस्यहरूले आफ्नो मन्तव्य राख्नेछन् भने सभामुखले नयाँ नियमावली नबनेसम्मका लागि ‘प्रतिनिधिसभा नियमावली २०७९’ बमोजिम कार्य अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्नुहुनेछ। बैठकको अन्त्यमा सभामुखको निर्वाचनका लागि दिन तोकिनेछ भने पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक समापन हुनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर