आईपिएल २०२६ : राजस्थान रोयल्स  र दिल्ली क्यापिटल्स  विजयी

इन्डियन प्रिमियर लिग २०२६ को हिजो सम्पन्न दुई रोमाञ्चक खेलहरूमा राजस्थान रोयल्स  र दिल्ली क्यापिटल्स  विजयी भएका छन्।

पहिलो खेल: दिल्ली क्यापिटल्सको सानदार जित

अरुण जेट्ली स्टेडियममा भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। मुम्बईका लागि कार्यवाहक कप्तान सूर्यकुमार यादवले ५१ र रोहित शर्माले ३५ रनको योगदान दिए। दिल्लीका बलर मुकेश कुमारले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। दिल्लीको जितमा युवा स्टार समीर रिज्वी नायक बने। उनले मात्र ५१ बलमा ९० रनको विष्फोटक इनिङ खेले, जसमा उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। मुम्बईका बलरहरूले कसिलो बलिङ गरे पनि रिज्वी र डेभिड मिलरको साझेदारीसामु उनीहरूको केही लागेन।

दोस्रो खेल: राजस्थान रोयल्सको रोमाञ्चक ६ रनको जित

नरेन्द्र मोदी स्टेडियममा भएको दोस्रो खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनको झिनो अन्तरले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २१० रनको विशाल योगफल तयार पारेको थियो। राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७५ रन बनाए भने ओपनर यशस्वी जयसवालले ५५ रनको योगदान दिए। गुजरातका राशिद खानले १ विकेट लिए।

२११ रनको विशाल लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमा समेटियो। गुजरातका साइ सुदर्शनले ४४ बलमा ७३ रनको उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। राजस्थानका लेग स्पिनर रवि बिश्नोईले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए, जसले गर्दा उनलाई ‘प्लेयर अफ द म्याच’ चुनियो। अन्तिम ओभरमा तुषार देशपान्डेले उत्कृष्ट बलिङ गर्दै राजस्थानको जित सुनिश्चित गरे।

यी जितसँगै राजस्थान रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने दिल्लीले पनि आफ्नो उत्कृष्ट लयलाई कायम राखेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link