गत महिना, नेपालले आफ्ना नयाँ प्रधानमन्त्री बालेन्द्र शाह र युवा सांसदहरूले भरिएको संसद्को स्वागत गरिरहँदा, बङ्गलादेशी अभियन्ता उमामा फातेमाले टाढैबाट यो दृश्य हेर्दै एक प्रकारको निराशा महसुस गरिन्।
फातेमा सन् २०२४ मा बङ्गलादेशको सडकमा उत्रिएका हजारौँ ‘जेन जी’ प्रदर्शनकारीहरूमध्ये एक थिइन्। आफ्ना नेपाली समकक्षीहरूझैँ उनीहरूले पनि उग्र प्रदर्शनमार्फत आफ्नो सरकार ढालेका थिए।
तर लगभग दुई वर्ष बितिसक्दा पनि बङ्गलादेशको युवा आन्दोलनले अझै कुनै अर्थपूर्ण राजनीतिक शक्ति प्राप्त गर्न सकेको छैन। गत फेब्रुअरीमा भएको चुनावमा स्थापित बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक बहुमत हासिल गर्यो भने विद्यार्थी विद्रोहबाट जन्मिएको नयाँ युवा नेतृत्वको नेसनल सिटिजन्स पार्टी (एनसीपी) को प्रदर्शन निकै निराशाजनक रह्यो।
यो नेपालको तुलनामा पूर्णतः विपरीत छ, जहाँ त्यसको एक महिनापछि भएको ऐतिहासिक निर्वाचनमा चार वर्ष पुरानो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी विजय हासिल गर्यो। यो जितले ठुलो सङ्ख्यामा ‘जेन जी’ राजनीतिज्ञहरूलाई संसद्मा पठायो र रास्वपासँग गठबन्धन गरेका पूर्व र्यापर शाहलाई नेपालको नेता बनायो।
एसियामा यो एक दुर्लभ सफलताको कथा हो, जहाँ हालका वर्षहरूमा धेरै ‘जेन जी’ आन्दोलनहरू देखिए पनि नेपालका युवाहरूले जस्तै सत्ता प्राप्त गर्न कोही पनि सफल भएका छैनन्।
“व्यक्तिगत रूपमा, मलाई खिन्न लाग्यो। जब मैले नेपाली युवाहरूले आफूलाई कति प्रभावकारी रूपमा सङ्गठित गर्न सकेको देखेँ, मैले आफ्नो देशको अवस्थाप्रति निराश महसुस नगरी रहन सकिनँ,” फातेमाले भनिन्। “बङ्गलादेशले यस्तो परिवर्तन दिन सकेन… हामीले आफ्नो देशलाई त्यसरी नै सङ्गठित र पुनः निर्माण गर्न सकेनौँ भन्ने महसुस हुनु स्वाभाविक रूपमा निराशाजनक छ।”
तर किन युवाहरू एउटा देशमा विजयी भए र अर्कोमा असफल?
नेपाली युवा नेताहरूले आफ्नो विजयको श्रेय आफ्नो आन्दोलनले आम नागरिकसँग गाँस्न सकेको सम्बन्धलाई दिएका छन्।
‘जेन जी’ प्रदर्शनले “लामो समयदेखि चल्दै आएको शासन पद्धतिप्रतिको गहिरो आक्रोशलाई उजागर गर्यो,” रास्वपाबाट चुनाव लडेर कैलाली जिल्लाबाट सिट जितेका केपी खनालले भने। “साथै, युवाहरूको बलिदान र आवाज जनताको मानसपटलमा रहिरह्यो – उनीहरूलाई बिर्सिइएन।”
“निरन्तरता पनि एउटा मुख्य कारक थियो। हामीले जवाफदेहिता र न्यायका लागि बारम्बार आवाज उठाइरह्यौँ, र बिस्तारै त्यो सन्देश टाढा-टाढासम्म पुग्यो। यो केवल यथास्थितिप्रतिको प्रतिक्रिया मात्र रहेन, बरु एउटा साँचो र विश्वसनीय आन्दोलन बन्यो जसमा मानिसहरूले विश्वास गरे र सहभागी हुन चाहे।”
तर विश्लेषकहरूले नेपालको अद्वितीय राजनीतिक परिदृश्य र युवा आन्दोलनले चालेका चलाख निर्णयहरूलाई पनि औँल्याएका छन्।
गठबन्धन सरकारलाई प्राथमिकता दिने निर्वाचन प्रणालीका कारण नेपालमा वर्षौँदेखि कुनै पनि एकल दलले बहुमतको शासन गर्न सकेको छैन। देशले १७ वर्षमा १४ वटा सरकारहरू देख्यो, जहाँ केही स्थापित दलहरू र मुठ्ठीभर राजनीतिज्ञहरूले आलोपालो सत्ता सम्हाले, जसलाई आलोचकहरूले ‘राजनीतिक म्युजिकल चेयर’ को संज्ञा दिएका थिए।
भ्रष्टाचारप्रति जनताको तीव्र आक्रोश, जुन ‘जेन जी’ प्रदर्शनमा देखियो, त्यसको निसाना स्थापनाकालदेखिका दलहरू बने। यसले तुलनात्मक रूपमा नयाँ दल रास्वपालाई बढी आकर्षक बनायो।
वेस्टमिन्स्टर विश्वविद्यालयको सेन्टर फर द स्टडी अफ डेमोक्रेसीकी निर्देशक निताशा कौल भन्छिन्, “नेपालको हकमा, तीन वटै स्थापित दलहरू बदनाम भएकाले यसको मुख्य फाइदा युवा केन्द्रित रास्वपा र यसका नेतालाई भयो।”
बालेन्द्र शाह र रास्वपाबिचको गठबन्धन, र धेरै युवा अभियन्ता एवं आन्दोलनकारी नेताहरूले पार्टीमा सामेल हुने निर्णयले उनीहरूको सफलतामा मद्दत पुर्यायो, किनकि रास्वपाले चुनावी अभियानका लागि आवश्यक स्रोत र व्यापक पहुँच प्रदान गर्यो।
तर्क गर्न सकिन्छ कि यो गठबन्धनले रास्वपालाई पनि मद्दत गर्यो, जसका नेता रवि लामिछानेमाथि रकम हिनामिनाको आरोप लागेको थियो। शाहजस्ता करिश्माई राजनीतिज्ञसँग हात मिलाएर पार्टीले यो विवादलाई पार गर्न सफल भयो, जसको पछाडि मतदाताहरू एकजुट हुन सक्थे तर उनीसँग आफ्नै सङ्गठित पार्टी संरचना थिएन।
“दक्षिण एसियाको सन्दर्भमा, जहाँ पार्टी सङ्गठन अत्यन्त महत्त्वपूर्ण हुन्छ, युवा नेतृत्वको पार्टीले चुनावी सफलता हासिल गर्न, विशेष गरी पहिलो प्रयासमै, व्यापक पार्टी संरचना निर्माण गर्नुपर्ने हुन्छ,” नेपाली राजनीतिक विश्लेषक अमिष मुल्मी भन्छन्।
युवा अभियन्ता पुरुषोत्तम सुप्रभात यादवले गत वर्ष ‘जेन जी’ प्रदर्शनपछि साथीहरूले नयाँ पार्टी खोल्न आग्रह गर्दा यही कुरा मनमा राखेका थिए।
यादवले ‘नाइँ’ भने। “चुनाव जित्नु ठट्टा होइन। आन्दोलन सङ्गठित गर्नु र चुनावमा विजयी हुनु दुई फरक कुरा हुन्,” उनले बिबिसीलाई भने। “राजनीतिक दल शून्यबाट बन्न सक्दैन… यसका लागि ठुलो संयन्त्र चाहिन्छ। त्यहाँ वित्त र सङ्गठन निर्माणका समस्याहरू पनि थिए, जुन हामीसँग त्यस समयमा सहजै उपलब्ध थिएनन्।”
यसको सट्टा, २७ वर्षीय यादवले डिसेम्बरमा रास्वपामा सामेल हुने निर्णय गरे। उनले यसलाई स्थापित दलहरूको विश्वसनीय विकल्पका रूपमा देखे, जसको देशव्यापी साङ्गठनिक सञ्जाल र राजनीतिक सूचीमा धेरै नयाँ अनुहारहरू थिए।
यो निर्णय सफल भयो। गत हप्ता, यादव रास्वपाको समानुपातिक सूचीबाट सांसदका रूपमा शपथ लिए।
कौलका अनुसार चुनाव जित्नका लागि दीर्घकालीन परिचालन कार्य आवश्यक हुन्छ। “जोस, निराशा, आक्रोश वा शुद्धताको राजनीतिबाट प्रेरित आन्दोलन यथास्थितिलाई चुनौती दिन त राम्रो हुन सक्छ – तर चुनाव जित्नका लागि सधैँ पर्याप्त हुँदैन,” उनले भनिन्।
दक्षिण एसियामा विशेष गरी, मानमर्यादाको संस्कृति, परम्परागत सामाजिक मान्यता र लैङ्गिक पदानुक्रमले अक्सर युवा आन्दोलनहरूलाई सफल हुनबाट रोक्छ। तर नेपाल यसको एक “राम्रो उदाहरण” बनेको उनले बताइन्।
बङ्गलादेशको बाटो किन कठिन भयो?
केही विश्लेषकहरू मान्छन् कि केहि महत्त्वपूर्ण कारकहरू बङ्गलादेशको हकमा अभाव थिए।
‘जेन जी’ आन्दोलनले विस्थापित नगरेसम्म बङ्गलादेशको राजनीतिमा अवामी लिगको वर्चस्व थियो। यसको अर्थ दोस्रो र तेस्रो दलहरूलाई ‘पीडित’ का रूपमा हेरियो, कौलले भनिन्। बीएनपी र जमात-ए-इस्लामीले अन्ततः चुनावमा एन्टी-इस्ट्याब्लिसमेन्ट (संस्थापन विरोधी) भावनाको फाइदा उठाए।

सन् २०२४ मा बंगलादेशी युवाहरूले आन्दोलनको नेतृत्व गरेका थिए, जसले अन्ततः अवामी लिग नेतृत्वको सरकारलाई सत्ताच्युत गर्यो।
यी दलहरूले आफूलाई सुधारवादीका रूपमा प्रस्तुत गरे र युवा आन्दोलनसँग नजिकबाट जोडिए। सिङ्गापुरको नेशनल युनिभर्सिटीका शोधकर्ता इमरान अहमदका अनुसार, उनीहरूले नयाँ युवा सङ्गठनहरू भन्दा राम्रोसँग आन्दोलनको ऊर्जालाई आत्मसाथ गर्न र प्रयोग गर्न सके।
एनसीपीले विवादित र अनुदारवादी जमात-ए-इस्लामीसँग गठबन्धन गर्ने निर्णय विशेष गरी आत्मघाती साबित भयो, जसले आफ्ना मुख्य युवा समर्थकहरू – विशेष गरी महिलाहरूलाई टाढा बनायो। अन्तमा, एनसीपीले प्रतिस्पर्धा गरेका ३० सिटमध्ये मात्र ६ सिट जित्यो।
दिल्लीस्थित एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका सहायक निर्देशक ऋषि गुप्ताका अनुसार, बङ्गलादेशमा प्रतिगामी शक्तिसँग मिलेर एनसीपी ‘जेन जी’ को मुद्दाभन्दा पनि राजनीतिक शक्तिको खेलमा बढी केन्द्रित देखियो, जसले गर्दा उनीहरूले मतदातामाझ आफ्नो आकर्षण गुमाए।
समयको पनि उत्तिकै महत्त्व रह्यो। गुप्ताले औँल्याए कि बङ्गलादेशमा आन्दोलन र चुनावको बिचमा डेढ वर्षको ग्याप (अन्तराल) भएकाले आन्दोलनको राप र ताप घट्यो। यसको विपरीत नेपालले ६ महिनामै चुनाव गराएको थियो।
परिवर्तनको आशा अझै बाँकी
यद्यपि, बङ्गलादेशी प्रदर्शनकारीहरूले राष्ट्रिय बहसको दिशा बदल्न भने सफलता पाएका छन्। अहमदका अनुसार, प्रदर्शनले सुधारको आवश्यकतामा बहस केन्द्रित गर्यो, जसले गर्दा चुनावसँगै भएको जनमत सङ्ग्रहमा अधिकांश मानिसले संविधान र कानुनी प्रणालीमा व्यापक परिवर्तनका लागि मतदान गरे।
नयाँ बीएनपी सरकारले संरचनागत सुधारका लागि ३१ बुँदे योजना पनि ल्याएको छ। तर केही मानिसहरू अझै शङ्कालु छन्। “धेरै हिसाबले उनीहरूले अवामी लिगले गर्ने गरेका पुराना परम्परागत कार्यक्रमहरू नै पछ्याएका छन्,” फातेमाले भनिन्।
बङ्गलादेशका युवाहरूमा अहिले निराशा छाएको छ र धेरैले विदेशमा अवसर खोज्न थालेका छन्। “युवाहरूले देशमा आफ्नो भविष्य नदेखेपछि उनीहरूले राजनीतिक परिदृश्यमा कसरी आफ्नो स्थान पाउँछन्? यो एक ठुलो समस्या बनेको छ,” उनले थपिन्।

बंगलादेशी अभियन्ता उमामा फातेमा नयाँ सरकारले युवाहरूका लागि थप शैक्षिक र रोजगारीका अवसरहरू उपलब्ध गराउनमा ध्यान दिनेछ भन्ने आशा गर्छिन्।
यद्यपि, केही मानिसहरू एनसीपीले संसद्मा आफ्नो सानो उपस्थितिलाई बलियो बनाउँदै युवा आन्दोलनलाई पुनर्जीवित गर्ने आशामा छन्।
पार्टीले आगामी स्थानीय चुनावमा कुनै पनि गठबन्धन बिना उम्मेदवार उठाउँदै छ। “मलाई लाग्छ कि मानिसहरूले यस पटक पार्टीलाई पहिलेको तुलनामा बढी स्वीकार गर्नेछन्,” एक स्थानीय एनसीपी नेता राहत होसेनले भने।
नेपाल र बङ्गलादेशका युवा प्रदर्शनकारीहरूको लक्ष्य एउटै छ – उनीहरू परिवर्तनका लागि लड्न छोड्ने छैनन्।
नेपालका नयाँ ‘जेन जी’ सांसदहरूले आफ्नो सरकारलाई जनताप्रति उत्तरदायी बनाउने कसम खाएका छन्। “हामी सडकबाट सदनमा छिरेका छौँ – हाम्रो स्थान परिवर्तन भएको छ, तर हाम्रो एजेन्डा होइन,” यादवले भने। “भ्रष्टाचार विरोधी अभियान र नातावादको अन्त्य हाम्रा मुख्य माग हुन्। यदि यसका लागि आफ्नै पार्टीसँग लड्नु परे पनि हामी तयार छौँ।”
र यदि बङ्गलादेशको नयाँ सरकारले जनमत सङ्ग्रहको नतिजा पालना गरेन भने, “हामी आवश्यक परे फेरि सडकमा उत्रिनेछौँ,” होसेनले चेतावनी दिए।
यस पटक उनीहरू एक्लो हुने छैनन्। फातेमा भन्छिन्, “हामीभन्दा १० वर्ष सानाहरूले अन्ततः आफ्नै आन्दोलन सङ्गठित गर्नेछन्। बङ्गलादेशमा विरोधको अर्को चरण सम्भवतः ‘जेनेरेसन अल्फा’ ले नेतृत्व गर्नेछ।”
श्रोत: बिबिसी
लेखक: टेसा वोंग, सिङ्गापुर- सरदार रोनी, ढाका- र फणीन्द्र दाहाल, काठमाडौं
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
