ट्रम्पको अल्टिमेटम: सम्झौता नभए इरानका गैर-सैनिक पूर्वाधार ‘ध्वस्त’ पार्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एक अन्तिम चेतावनी दिँदै, तोकिएको समयसीमाभित्र सम्झौता नभए इरानका गैर-सैनिक पूर्वाधारहरूमाथि व्यापक आक्रमण गर्ने धम्की दिएका छन्। हर्मोज जलमार्ग  पुनः सञ्चालन गर्ने र युद्ध विरामका सर्तहरूमा सहमति जनाउन ट्रम्पले मंगलबार राति ८ बजे (अमेरिकी समय) सम्मको समयसीमा तोकेका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कडा शब्दमा इरानलाई चेतावनी दिएका छन्। उनले भनेका छन्, “मंगलबार ‘पावर प्लान्ट डे’ र ‘ब्रिज डे’ हुनेछ। यदि ती पागलहरूले जलमार्ग खोलेनन् भने, उनीहरूले नर्कको अनुभव गर्नेछन्।”

विभिन्न सञ्चार माध्यमका रिपोर्टहरूका अनुसार, यदि इरानले तोकिएको समयसीमाभित्र अमेरिकी सर्तहरू स्वीकार नगरेमा अमेरिकाले इरानका महत्त्वपूर्ण नागरिक पूर्वाधारहरूलाई मुख्य निशाना बनाउने तयारी गरेको छ। यस सैन्य रणनीति अन्तर्गत इरानका विद्युत् गृहहरू, प्रमुख यातायातका पुलहरू, ग्यास तथा तेल प्रशोधन केन्द्रहरू र सञ्चार सञ्जालहरूमाथि व्यापक आक्रमण गर्ने धम्की दिइएको छ। राष्ट्रपति ट्रम्पले कडा चेतावनी दिँदै यी संरचनाहरू ध्वस्त पारेर इरानलाई “ढुङ्गे युग” मा फर्काइदिने र एकै रातको कारबाहीबाट पूरै देशको अवस्था बदलिदिने दाबी समेत गर्नुभएको छ।

इरानले भने ट्रम्पको यो चेतावनीलाई “अहङ्कारी र असभ्य” भन्दै खारेज गरिदिएको छ। इरानी अधिकारीहरूका अनुसार उनीहरू ४५ दिने अस्थायी युद्धविरामको पक्षमा छैनन् र युद्धको स्थायी अन्त्य तथा ग्यारेन्टी चाहन्छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमा आक्रमण भए त्यसको परिणाम ‘विनाशकारी’ हुने र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरू सुरक्षित नरहने चेतावनी दिएको छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सोमबारको ब्रिफिङमा इरानमाथि गरिने आक्रमण अहिलेसम्मकै ठुलो परिमाणको हुने बताएका छन्। उनले भने, “भोलिको दिन आजको भन्दा पनि भयानक हुनेछ। इरानसँग अझै पनि छनोटको अवसर छ, राष्ट्रपति ट्रम्पले ठट्टा गरिरहनुभएको छैन।”

मानवीय सहायता संस्थाहरूले नागरिक पूर्वाधारमा आक्रमण गर्ने ट्रम्पको योजनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हुने र लाखौँ सर्वसाधारणको जीवन जोखिममा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। जेनेभा महासन्धि अनुसार नागरिकहरूको जीवनरक्षाका लागि आवश्यक पूर्वाधार (जस्तै बिजुली र पुल) लाई सैन्य निशाना बनाउन पाइँदैन।

अहिले विश्वको नजर मंगलबार रातिको समयसीमामा टिकेको छ। यदि कूटनीतिक प्रयास सफल भएन भने, मध्यपूर्वमा एक ठुलो स्तरको सैन्य मुठभेड सुरु हुने जोखिम बढेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link