आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत हिजो भएको खेलमा सनराइजर्स हैदराबाद  र दिल्ली क्यापिटल्सले आ-आफ्नो खेलमा महत्त्वपूर्ण जित हात पारेका छन्। हैदराबादले साबिक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दा दिल्लीले रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध रोमाञ्चक जित निकाल्यो।

पहिलो खेल: दिल्ली क्यापिटल्सको अन्तिम ओभरमा जितबेंगलुरुको चिन्नास्वामी स्टेडियममा भएको दिउँसोको खेलमा दिल्ली क्यापिटल्सले घरेलु टोली आरसिबीलाई ६ विकेटले स्तब्ध बनायो। टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। बेंगलुरुका लागि ओपनर फिल साल्टले ६३ रनको सानदार इनिङ खेले पनि अन्य ब्याटर चल्न सकेनन्। बलिङतर्फ दिल्लीका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए।

१७६ रनको लक्ष्य पछ्याएको दिल्लीले १ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दिल्लीको जितमा केएल राहुल (५७ रन) र प्लेयर अफ द म्याच ट्रिस्टन स्टब्स (नाबाद ६० रन) ले उत्कृष्ट साझेदारी गरे। अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा डेभिड मिलरले दुई छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए।

दोस्रो खेल: हैदराबादको सानदार पुनरागमन

हैदराबादमा भएको रात्रिकालीन खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गर्‍यो। टस जितेर बलिङ रोजेको चेन्नईका बलरहरू अभिषेक शर्मा र हेनरिक क्लासेनको ब्याटिङ अगाडि निरीह देखिए। दुवैले समान ५९-५९ रनको योगदान दिएपछि हैदराबादले ९ विकेटको क्षतिमा १९४ रनको विशाल योगफल खडा गर्‍यो।

जवाफी ब्याटिङमा आएको चेन्नईले राम्रो सुरुवात गरे पनि मध्य क्रममा विकेट गुमाउँदा दबाबमा आयो। म्याट शर्टले ३४ रन र रुतुराज गायकवाडले १९ रन बनाए पनि चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १८४ रनमा समेटियो। हैदराबादका लागि इसान कलिङ्गाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए र म्यान अफ द म्याच घोषित भए।

यो जितसँगै हैदराबाद अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। यता दिल्ली क्यापिटल्स छैटौँ स्थानमा रहँदा बेंगलुरु हारका बाबजुद दोस्रो स्थानमा छ। चेन्नई भने अङ्क तालिकाको सातौँ स्थानमा खस्किएको छ। हाल पन्जाब किंग्स ९ अङ्कका साथ शीर्ष स्थानमा कायम छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link