सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहने गरी सो आयोजना प्रस्ताव गरिएको हो। आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ।
आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ। निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन्।
विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ
आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको भए पनि पछिल्लो पटक अर्ध जलाशय प्रकृतिमा निर्माण गर्ने भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागिएको छ। वन तथा वातावरण मन्त्रालयले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।
आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहेको छ। आयोजनाको संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट दुई हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो, जामुख आदि प्रजातिका रुख काट्नुपर्नेछ।
आयोजनाबाट उत्पादित बिजुली नयाँ खिम्ती सबस्टशेन देवीटार दोलखामा जोडिने आयोजनाले जनाएको छ। आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँ बराबर रहनेछ। प्रवर्द्धक कम्पनीका अनुसार प्रतिमेगावाट लागत २० करोड रुपैयाँ बराबर रहेको छ।
आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन