आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित

इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत आइतबार भएका दुई रोमाञ्चक खेलहरूमा कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सले सानदार जित दर्ता गरेका छन्।
आइतबारको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै सिजनको पहिलो जित हात पारेको छ। इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। राजस्थानका लागि वैभव सूर्यवंशीले ४६ र यशस्वी जैसवालले ३९ रनको योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्। कोलकाताका स्पिनर वरुण चक्रवर्तीले घातक बलिङ गर्दै मात्र १४ रन खर्चेर ३ विकेट लिए भने सुनिल नरेनले २ विकेट झार्दै राजस्थानलाई कम स्कोरमा रोके।

१५६ रनको लक्ष्य पछ्याएको कोलकाताको सुरुवात पनि निकै खराब रह्यो। सुरुवाती विकेट सस्तैमा गुमाए पनि रिंकु सिंहले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ३४ बलमा ५३ रन बनाएर टोलीलाई जितको नजिक पुर्‍याए। अन्तिममा अनुकूल रोयले १६ बलमा २९ रनको आक्रामक पारी खेलेपछि कोलकाताले २ बल बाँकी छँदै जित सुनिश्चित गर्‍यो। वरुण चक्रवर्ती ‘प्लेयर अफ द म्याच’ घोषित भए।

पन्जाबको कीर्तिमानी ब्याटिङ, लखनउ स्तब्ध

आइतबारकै दोस्रो खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्समाथि ५४ रनको फराकिलो जित निकाल्यो। न्यु चण्डीगढस्थित महाराज यादविन्द्र सिंह रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल तयार गरेको थियो। यो जारी सिजनकै उच्च स्कोर मध्येको एक हो। पन्जाबका ओपनर प्रियंश आर्यले मात्र ३७ बलमा ९३ रनको विस्फोटक इनिङ खेले। उनलाई कोपर कोनोलीले राम्रो साथ दिए।

२५५ रनको कठिन लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो। लखनउका लागि निकोलस पुरन र कप्तान केएल राहुलले अर्धशतकीय पारी खेले पनि विशाल लक्ष्य भेटाउन त्यो पर्याप्त भएन। पन्जाबका बलरहरूले कसिलो बलिङ गर्दै लखनउलाई दबाबमा राखे। ९३ रनको आक्रामक पारी खेलेका प्रियंश आर्य खेलको ‘प्लेयर अफ द म्याच’ बने।

यी जितसँगै कोलकाताले आफ्नो अङ्क तालिकामा खाता खोलेको छ भने पन्जाबले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै तालिकाको माथिल्लो स्थानमा पकड जमाएको छ। आज सोमबार गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा हुँदैछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link