ट्रम्पको दोस्रो कार्यकाल र अमेरिकाको अधोगति

ट्रम्पको इरानसँगको युद्धले संसारलाई के-कति बिगार्‍यो भन्ने कुरालाई अहिले थाती राखौँ। बरु, दोस्रो पटक राष्ट्रपति बनेदेखि उनले अमेरिकालाई नै कति क्षति पुर्‍याएका छन् भन्नेतर्फ ध्यान दिऊँ।

रामचन्द्र गुहा

इतिहासकारहरूले मानव जातिको नियति निर्धारणमा व्यक्तिको भूमिकालाई कम आङ्कलन गर्ने गर्छन्। इ.एच. कारले सन् १९६१ मा प्रकाशित आफ्नो पुस्तक हवाट इज हिस्ट्री?’ मा ‘खराब राजा जोन र असल रानी बेस’ शैलीको इतिहास लेखनको मजाक उडाएका थिए। कार्ल मार्क्सले भनेझैँ व्यक्तिले आफूले रोजेको परिस्थितिमा इतिहास बनाउँदैनन् भन्ने कुरा सत्य हो। उनीहरू प्रचलित आर्थिक र सामाजिक परिस्थितिहरू, विशेष गरी प्रविधि र वर्गीय सम्बन्धहरूद्वारा बाँधिएका हुन्छन्। तैपनि कहिलेकाहीँ व्यक्तिहरूले इतिहासलाई आकार दिन—राम्रोका लागि र विशेष गरी नराम्रोका लागि’ निर्णायक भूमिका खेल्न सक्छन्। लेनिनविना सोभियत राज्य नहुन सक्थ्यो र हिटलरविना नाजी राज्य पक्कै हुने थिएन।

अहिले हामी बाँचिरहेको संसारमा इतिहासलाई आकार दिने व्यक्तिहरूको वर्चस्व छ। तीमध्ये डोनल्ड ट्रम्पभन्दा ठुलो अरू कोही छैन। यो कुरा स्वीकार गर्नुपर्छ कि, उनको उदयलाई व्यापक आर्थिक र प्राविधिक परिवर्तनहरूको पृष्ठभूमिमा बुझ्नुपर्छ। भूमण्डलीकरणका कारण गोरा श्रमिक वर्गमा उब्जिएको असन्तुष्टि र उनको छवि तथा झुटलाई फैलाउन नयाँ सञ्चारमाध्यमको प्रयोग नभएको भए ट्रम्प सायद अमेरिकाको राष्ट्रपति बन्ने थिएनन्। तैपनि पद सम्हालेपछि उनले आफूबाहेक लाखौँ व्यक्तिको जीवन रेखा र भाग्यलाई सक्रिय रूपमा नयाँ मोड दिएका छन्। उदाहरणका लागि, यदि आहिलेको समयमा अमेरिकाको राष्ट्रपति अरू कोही भएको भए इजरायलको उक्साहटमा इरानविरुद्धको युद्ध कहिल्यै नहुन सक्थ्यो, जसले पश्चिम एसियाका देशहरूलाई मृत्यु र विनाशबाट जोगाउने थियो र मध्यपूर्व क्षेत्रबाहिरका देशहरूलाई महँगो तेल, ग्यास र रासायनिक मलको मारबाट पनि बचाउने थियो।

म ट्रम्पको इरान युद्धले विश्वलाई पुर्‍याएको क्षतिबाट ध्यान हटाएर उनले दोस्रो कार्यकाल जितेको एक वर्ष तीन महिनामा आफ्नै देशलाई पुर्‍याएको क्षतिमा केन्द्रित हुन चाहन्छु। यस अवधिमा ट्रम्पले आफूले ‘महान् बनाउने’ वाचा गरेको आफ्नो देशलाई कम्तीमा सात वटा महत्त्वपूर्ण तरिकाले कमजोर पारेका छन्।

ट्रम्पको आफ्नो देशमाथिको पहिलो आक्रमण सरकारभित्रको निर्णय प्रक्रियामा भएको छ। अमेरिकी राष्ट्रपति वेस्टमिन्स्टर प्रणालीको प्रधानमन्त्रीभन्दा प्राविधिक रूपमा बढी शक्तिशाली भए पनि, उनले अरूसँग सक्रिय परामर्श गर्नुपर्ने दायित्व हुन्छ। तर ट्रम्पले अमेरिकी कङ्ग्रेस र आफ्नै मन्त्रिपरिषद्लाई समेत छलेर एकपक्षीय रूपमा काम गर्न रुचाएका छन्। भेनेजुएला र इरानमाथिको युद्धको घोषणा यसका सबैभन्दा स्पष्ट उदाहरण हुन्। विचार गर्नुहोस्, आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमै ट्रम्पले २२५ वटा कार्यकारी आदेशहरू जारी गरे। यीमध्ये केही आदेशका परिणामहरू विनाशकारी छन्। जस्तै महत्त्वपूर्ण सरकारी विभागहरू बन्द गर्नु र मनपरी ढङ्गले भन्सार दरहरू परिवर्तन गर्नु। अन्य केही आदेशहरू भने हास्यास्पद छन् । जस्तै एउटा “सङ्घीय सरकारमा ‘वोक’ एआईलाई रोक्ने” र अर्को “अमेरिकाका ट्रक चालकहरूका लागि सडकका सामान्य नियमहरू लागू गर्ने”।ट्रम्पको दोस्रो आक्रमण अमेरिकाको निष्पक्ष कार्यपालिकाको अवधारणामाथि भएको छ। यो विशेष गरी न्याय विभागलाई हतियार बनाई यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरू र कानुन बमोजिम काम गर्ने इमानदार अधिकारीहरूलाई सताउन गरिएको प्रयोगमा सत्य साबित हुन्छ। यसैबिच उनले डेमोक्र्याटहरूले चलाएका राज्यहरूमा ‘आइसीई’ (ICE) एजेन्टहरू पठाएर आफ्ना नीतिहरूसँग असहमत नागरिकहरूलाई डराउने र धम्क्याउने काम गरेका छन्। यहाँ न्याय र निष्पक्षताभन्दा पनि प्रतिशोध र बदलाको भावना मुख्य शक्ति बनेको देखिन्छ।

ट्रम्पको तेस्रो आक्रमण अमेरिकी सेनामाथि भएको छ। कानुनतः राष्ट्रपतिको आदेश मान्न बाध्य भए तापनि सैन्य अधिकारीहरूले कुनै विशेष दल वा राजनीतिज्ञसँग आफूलाई जोड्नु हुँदैन। ट्रम्पले गत वर्ष राष्ट्रिय राजधानीमा आफ्नो जन्मदिनको अवसर पारेर सैन्य परेड आयोजना गरी यो परम्परा तोडे। हालै इरानसँगको युद्धको क्रममा उनले आफ्ना रक्षा सचिव पिट हेगसेथलाई एक उच्च सम्मानित सेना प्रमुखले पदोन्नतिमा लिङ्ग वा जातीय भेदभाव हुन नदिने अडान राखेकोमा त्यस अधिकारीलाई बर्खास्त गर्न अनुमति दिए। प्राविधिक परिष्कृतताको हिसाबले अमेरिकी सेना अझै पनि विश्वकै उन्नत छ तर यसको कार्य प्रणालीलाई राजनीतीकरण गर्ने प्रयासले संस्थागत क्षमतामा पक्कै पनि प्रतिकूल असर पारेको छ।

चौथो आक्रमण प्रेसको स्वतन्त्रतामा भएको छ। उनले केही सञ्चारमाध्यमका मालिकहरूलाई (सबैभन्दा कुख्यात रूपमा वासिङ्टन पोस्टका जेफ बेजोसलाई) आफ्नो प्रशासन र आफ्नो पक्षमा नरम नीति लिन धम्क्याएका छन्। अन्य अवस्थामा उनले आफ्ना व्यक्तिगत निकट रहेका अरबपतिहरूद्वारा सञ्चारमाध्यमहरू (उदाहरणका लागि सीबीएस) खरिद गर्न सक्रिय रूपमा सहयोग गरेका छन्। जसले गर्दा ट्रम्पका कार्यहरूको आलोचनात्मक कभरेजलाई दबाउन सकियोस्।

पाँचौँ प्रहार अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूमाथि भएको छ। यसको सुरुवाती कारण गाजामा इजरायलको नरसंहारकारी कार्यहरू विरुद्ध विद्यार्थी र संकायका विरोध प्रदर्शनहरू थिए। ती शान्तिपूर्ण प्रदर्शनहरूले राष्ट्रपतिलाई यति क्रुद्ध बनायो कि उनले सङ्घीय कोष कटौती गर्ने र विश्वविद्यालयका अक्षय कोषमा कर लगाउने धम्की समेत दिए। ट्रम्प अमेरिकाका उत्कृष्ट विश्वविद्यालयहरूलाई आफ्नो राजनीति र पूर्वाग्रहको घेराभित्र ल्याउन चाहन्छन्, चाहे त्यसका लागि ती विश्वविद्यालयहरूले कमाएको स्वतन्त्र बौद्धिक अनुसन्धानको प्रतिबद्धतालाई नै त्याग्नु किन नपरोस्। विश्वविद्यालयमाथिको यो आक्रमण विज्ञानमाथिको उनको व्यापक प्रहारकै एउटा भाग हो। पहिलो कार्यकालमा उनले कोभिड-१९ महामारी नियन्त्रण गर्ने एन्थोनी फाउचीको प्रयासलाई निरन्तर अवमूल्यन गरे। दोस्रो कार्यकालमा उनले स्वास्थ्य सचिवको रूपमा खोप विरोधी रोबर्ट एफ. केनेडी जुनियरलाई नियुक्त गरेका छन्।

छैटौँ आक्रमण अमेरिकाका सबैभन्दा भरपर्दो र पुराना सहयोगीहरूमाथि भएको छ। अमेरिकाको सधैँ मधुर सम्बन्ध भएको छिमेकी क्यानडाले अहिले व्यापार युद्ध र विलयको धम्की खेपिरहेको छ। त्यहाँका प्रधानमन्त्रीलाई अमेरिकाको ५१ औँ गभर्नरको संज्ञा दिइएको छ। ट्रम्पको क्यानडाप्रतिको उपहास केही समयका लागि रोकिएको भए तापनि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का अन्य सदस्यहरूमाथिको प्रहार भने जारी छ। सन् १९४९ मा स्थापना भएदेखि नाटो एक एकजुट र घर्षणमुक्त गठबन्धन थियो। तर ट्रम्पले ग्रीनल्याण्ड किन्ने वा विलय गर्ने धम्की दिएपछि र इरानविरुद्धको युद्धमा युरोपेली सहयोगीहरू सामेल नभएकोमा आक्रोश व्यक्त गरेपछि यो गठबन्धन गम्भीर तनावमा परेको छ। उनको शत्रुता व्यक्तिगत अपमानको रूपमा प्रकट हुने गरेको छ, जसमा बेलायत र स्पेनका प्रधानमन्त्रीहरूमाथि गरिएका अशिष्ट टिप्पणीहरू पनि सामेल छन्।अन्तमा, ट्रम्पले राष्ट्रपति पदकै गरिमालाई जानाजानी कमजोर बनाएका छन्। यो उनको सामाजिक सञ्जालका गालीगलौजपूर्ण पोस्टहरू र आफ्नो परिवार तथा साथीहरूलाई धनी बनाउन पदको दुरुपयोग गर्ने तत्परतामा स्पष्ट देखिन्छ।यो स्वीकार गर्नुपर्छ कि, विगतका केही राष्ट्रपतिहरू (लिन्डन जोन्सन र रिचर्ड निक्सन) ले पनि खराब भाषा प्रयोग गर्थे, तर त्यो गोप्य हुन्थ्यो। अन्य राष्ट्रपतिहरूले पद छोडेपछि आकर्षक भाषण र पुस्तक सम्झौताका लागि आफ्नो ओहोदाको प्रयोग गरे। तर आफ्नो अभद्रता र भ्रष्टाचारमा ट्रम्पले ती सबैलाई उछिनेका छन्। उनले जीवित स्मृतिमा रहेका कुनै पनि अन्य राष्ट्रपतिले भन्दा बढी आफ्नो पदको अपमान गरेका छन्।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आफ्नै देशमाथि गरेका यी आक्रमणहरूको सूची उदाहरणीय मात्र हो, पूर्ण होइन। यी उदाहरणहरूले ट्रम्पले आफूले माया गरेको दाबी गर्ने र महान् बनाउने वाचा गरेको आफ्नो देश अमेरिकालाई कति क्षति पुर्‍याएका छन् भन्ने सङ्केत गर्दछ। समग्रमा उनले अमेरिकालाई जीवित स्मृतिमा कहिल्यै नभएको जस्तो कमजोर र कम सम्मानित बनाएका छन्।

अन्तिम म एउटा कुरा भन्न चाहन्छु। पहिलो कार्यकालमा डोनल्ड ट्रम्प धेरै अस्थिर र सनकी ढङ्गले चल्थे। दोस्रो कार्यकालमा उनका कार्यहरूलाई अझ सही रूपमा ‘खतरनाक र दुर्भावनापूर्ण’ भनेर चित्रण गर्न सकिन्छ। मलाई विश्वास छ कि यस बिचमा उनले र उनका सल्लाहकारहरूले पहिले लोकतान्त्रिक रहेका देशहरूमा शासन गरिरहेका अन्य तानाशाहहरूका पद्धतिहरूको गहिरो अध्ययन गरेका छन् र तिनीहरूको सिको गर्ने प्रयास गरेका छन्। यसमा हंगेरीका भिक्टर ओर्बान, टर्कीका एर्दोगान, इजरायलका बेन्जामिन नेतान्याहु, र भारतका नरेन्द्र मोदी सामेल छन्। यी सबैले ट्रम्पभन्दा अघि नै प्रेसलाई तर्साउन, न्याय प्रणालीलाई हतियार बनाउन, सेनाको राजनीतीकरण गर्न र विश्वविद्यालयहरू कब्जा गर्न अथक प्रयास गरेका थिए। यी सबै व्यक्तिहरूले आफ्नो देशको लोकतान्त्रिक पुनरुत्थानको क्षमतालाई कमजोर बनाएका छन् र विश्वमा आफ्नो देशको प्रतिष्ठा घटाएका छन्। तर सायद इतिहासले ट्रम्पलाई सबैभन्दा बढी क्षति पुर्‍याएको रूपमा न्याय गर्नेछ किनभने विश्वकै सबैभन्दा धनी, शक्तिशाली, वैज्ञानिक रूपमा उन्नत र प्रभावशाली देश हुनुको नाताले अमेरिकासँग गुमाउनका लागि धेरै कुरा थियो।

श्रोत: द टेलिग्राफ

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link