गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन थालेका छन् । खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।
वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको उल्लेख गर्दै ती सर्पको उद्धार गरिएको बताए । “अहिले दैनिक जसो एउटा सर्पको बस्तीबाट उद्धार गरिएको छ र कहिलेकाहीँ दिनमा तीन सर्पको समेत उद्धार गरिएको छ”, उनले भने ।
उनले अहिलेको गर्मीमा विगतको वर्षभन्दा बढी सर्प जमिन बाहिर देखिएको जानकारी दिँदै ती सर्पको उद्धार गरेर जङ्गलमा लगेर छाडिएको बताए । यस आर्थिक वर्षमा चिसोयाममा समेत सर्पको उद्धार भएको थियो ।
उनले अहिलेसम्म यस आर्थिक वर्षमा १४० विभिन्न प्रजातिका सर्पको उद्धार गरिएको जानकारी दिए । सर्प उद्धार गर्नका लागि सशस्त्र वन रक्षक थीरबहादुर थापाको संयोजकत्वमा उद्धार टोली गठन गरिएको गुप्ताको भनाइ छ ।
सो टोलीलाई केही उपकरणसहित सामान्य तालिम दिइएको उल्लेख गर्दै उनले नेपालगन्जबाहेक कोहलपुरबाट समेत सर्पको उद्धार भएको बताए । बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पूर्ण भूभाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।
यसैबीच, बाँकेमा वनमा हुने आगलागीका घटना नियन्त्रण गर्न ‘फायर एम्बुलेन्स’ टोली तयारी अवस्थामा राखिएको छ । वन अधिकृत गुप्ताले अग्नि हेरालुसहित वनमा फायर लाइन बनाउने काम जारी रहेको बताए । बाँके राष्ट्र निकुञ्जबाट सरेको आगो शम्शेरगन्जमा निभाइएको उनको भनाइ छ । “केही आगलागी वनमा भएको थियो तर अहिले नियन्त्रणमा आइसकेको छ”, उनले भने ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन