अमेरिका र यूएईको मध्यस्थतामा युक्रेन र रुसबिच १९३ युद्धबन्दी साटासाट

लामो समयदेखि युद्धमा रहेका युक्रेन र रुसले शुक्रबार एक ठुलो मानवीय कदम चाल्दै १९३–१९३ जना युद्धबन्दी साटासाट गरेका छन्। संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) को विशेष मध्यस्थतामा यो आदानप्रदान सम्भव भएको हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत आफ्ना १९३ योद्धा स्वदेश फर्किएको पुष्टि गर्नुभएको छ। फिर्ता हुनेहरूमा युक्रेनी सशस्त्र बलका सदस्य, राष्ट्रिय गार्ड, सीमा सुरक्षा बल र प्रहरी अधिकारीहरू रहेका छन्। राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, “आफ्ना मानिसहरू घर फर्किनु हाम्रो लागि ठुलो उपलब्धि हो। हामी हाम्रा सबै बन्दीहरूलाई फिर्ता ल्याउन निरन्तर प्रयास गरिरहनेछौँ।”

रुसी रक्षा मन्त्रालयले पनि आफ्ना १९३ सैनिकहरू युक्रेनी नियन्त्रणबाट मुक्त भएको जनाएको छ। मन्त्रालयका अनुसार मुक्त गरिएका रुसी सैनिकहरूलाई सुरुमा बेलारुस लगिएको छ, जहाँ उनीहरूलाई आवश्यक चिकित्सा र मनोवैज्ञानिक सहयोग प्रदान गरिँदै छ। त्यहाँबाट उनीहरूलाई थप उपचारका लागि रुस लगिनेछ।

यो साटासाट रुस–युक्रेन युद्ध सुरु भए पछिको ७३औँ पटकको युद्धबन्दी आदानप्रदान हो। चार वर्षभन्दा लामो समयदेखि जारी यस द्वन्द्वमा हजारौँ बन्दीहरू साटासाट भइसकेका छन्। यस पटकको प्रक्रियामा अमेरिका र युएईले मानवीय मध्यस्थकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निभाएका थिए।

युक्रेन फर्किएका सैनिकहरूमध्ये कतिपय घाइते अवस्थामा छन् भने कतिपयमाथि रुसले फौजदारी मुद्दा समेत चलाएको थियो। स्वदेश फर्किएका सैनिकहरूलाई युक्रेनको उत्तरी क्षेत्रमा बसबाट झार्दा भावुक दृश्यहरू देखिएका थिए। कतिपय सैनिकहरू राष्ट्रिय झण्डा ओढेर रोइरहेका थिए भने कतिपयले वर्षौँपछि आफ्नो देशको आकाश र धर्ती देख्न पाउँदा खुसी व्यक्त गरे।

यसअघि गत चैतमा पनि दुवै पक्षले एक–अर्काका ५००–५०० बन्दीहरू मुक्त गरेका थिए। पछिल्लो समय युद्धका अन्य पक्षमा वार्ताहरू सुस्त भए पनि युद्धबन्दी साटासाटको मामिलामा भने दुई देशबिच सहकार्य देखिएको छ। यूएईको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आफ्नो प्रयास जारी रहने बताएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link