भर्खरै सार्वजनिक गरिएको एक वृहत् जलवायु प्रतिवेदनका अनुसार युरोप विश्वकै सबैभन्दा तीव्र गतिमा तातिँदै गएको महादेश बनेको छ। सन् २०२५ मा युरोपका अधिकांश भागमा औसतभन्दा निकै बढी तापक्रम रेकर्ड गरिएको छ, जसले गर्दा जनजीवन र पारिस्थितिक प्रणालीमा ‘खतरनाक’ असर पुगिरहेको छ।
कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस र विश्व मौसम विज्ञान सङ्गठनद्वारा संयुक्त रूपमा प्रकाशित ‘युरोपियन स्टेट अफ द क्लाइमेट’ रिपोर्टले युरोपको ९५ प्रतिशत भूभागमा औसतभन्दा बढी तापक्रम रहेको देखाएको छ।
प्रतिवेदनका अनुसार गत वर्ष पोर्चुगलमा तापक्रम ४६ डिग्री सेल्सियस (११५ फरेनहाइट) सम्म पुगेको थियो भने आर्कटिक क्षेत्रभित्रै पनि ३० डिग्री सेल्सियससम्मको गर्मी महसुस गरिएको थियो। स्पेनमा एकैसाथ २० वटा ठुला डढेलोहरू लागेका थिए। समग्रमा, युरोपभरि १० लाख हेक्टरभन्दा बढी जमिन डढेलोले सखाप पारेको छ, जुन साइप्रस देशको क्षेत्रफल बराबर हो। यो अहिलेसम्मकै सबैभन्दा ठुलो क्षेत्रफलको डढेलो रेकर्ड हो।
जलवायु परिवर्तनको सबैभन्दा डरलाग्दो चित्र ग्रीनल्याण्डमा देखिएको छ। रिपोर्टका अनुसार ग्रीनल्याण्डले १३९ अर्ब टन बरफ गुमाएको छ। यो भनेको प्रति घण्टा १०० वटा ओलम्पिक आकारका स्विमिङ पुल बराबरको हिउँ पग्लिनु हो। यो परिमाण युरोपेली आल्प्स पर्वतमालामा रहेका सबै हिमनदीहरूको कुल आयतनभन्दा १.५ गुणा बढी हो। यसका साथै, युरोपका अधिकांश समुद्री क्षेत्रहरूमा ‘समुद्री तातो लहर’ महसुस गरिएको छ।
विज्ञहरूले युरोप अन्य महादेशहरूको तुलनामा तीव्र गतिमा तातिनुका पछाडि मुख्य चार वटा कारणहरू औँल्याएका छन्। पहिलो कारण, युरोपको आर्कटिक क्षेत्रसँगको निकटता हो; आर्कटिक क्षेत्र विश्वको औसत दरभन्दा तीन गुणा बढी गतिमा तातिइरहेको हुनाले त्यसको प्रत्यक्ष र गम्भीर प्रभाव छिमेकी युरोपेली मुलुकहरूमा परिरहेको छ। दोस्रो, यस क्षेत्रमा हिउँको मात्रामा निरन्तर कमी आउनु अर्को ठुलो चुनौती बनेको छ। सूर्यको तापलाई अन्तरिक्षतर्फ परावर्तन गर्ने हिउँ पग्लिएपछि जमिन र समुद्रले पहिलेभन्दा बढी सौर्य विकिरण सोस्न थालेका छन्, जसले गर्दा जमिन थप तातिरहेको छ।
त्यसै गरी, तेस्रो कारणको रूपमा परिवर्तित मौसम चक्रलाई लिइएको छ, जहाँ बदलिँदो वायुमण्डलीय चाप र वायुको बहावले गर्दा तातो लहरहरू झन् बारम्बार र शक्तिशाली बन्दै गएका छन्। चौथो र केही हदसम्म विरोधाभासपूर्ण कारण ‘सफा आकाश’ लाई मानिएको छ। सवारी साधन र उद्योगहरूबाट हुने प्रदूषण (एरोसोल) कम गर्ने प्रयासले हावामा रहेका त्यस्ता कणहरू घटेका छन् जसले पहिले सूर्यको प्रकाशलाई छेक्ने वा परावर्तन गर्ने गर्थे। अहिले आकाश सफा हुँदा सूर्यको प्रकाश सिधै र निर्बाध रूपमा जमिनमा आइपुग्ने हुनाले युरोपमा गर्मीको प्रभाव अझ तीव्र देखिएको हो।
बेलायतमा पनि गत वर्ष इतिहासकै सबैभन्दा तातो गर्मी रेकर्ड गरियो। यसले गर्दा पानीको चरम अभाव, डढेलो र कृषि क्षेत्रमा करिब ८०० मिलियन पाउन्डको क्षति पुगेको छ। सन् १९७६ को गर्मी स्थानीय स्तरमा मात्र सीमित थियो भने अहिलेको तातो लहर बेलायतदेखि पूर्वी युरोप र ग्रीससम्म फैलिएको छ। नेशनल ट्रष्टका प्रमुख हिलारी म्याकग्राडीले यी “असाधारण वर्षहरू” अब सामान्य बन्दै गएको भन्दै कार्बन उत्सर्जन घटाउन र अनुकूलनका लागि तत्काल कदम चाल्नुपर्नेमा जोड दिएकी छिन्।
यति धेरै चुनौतीका बिच रिपोर्टले एउटा सकारात्मक पक्ष पनि देखाएको छ। युरोपमा सौर्य ऊर्जाको उत्पादनले नयाँ रेकर्ड कायम गरेको छ। गत वर्ष युरोपको कुल बिजुली खपतको १२.५ प्रतिशत हिस्सा सौर्य ऊर्जाले धानेको थियो, जुन अघिल्लो वर्ष १०.३ प्रतिशत मात्र थियो। आकाश सफा हुँदा सूर्यको प्रकाश बढी प्राप्त हुनु र नयाँ प्लान्टहरूको स्थापनाले यसमा मद्दत पुर्याएको हो। तर, विज्ञहरूले चेतावनी दिएका छन् कि अत्यधिक गर्मीले सौर्य प्यानलहरूको कार्यक्षमतामा भने ह्रास ल्याउन सक्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मनसुनबाट देशभर साढे २ लाख नागरिक प्रभावित हुने अनुमान
- आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित
- विश्वकप लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
- आजको मौसम पूर्वानुमान
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६३औँ प्रतिवेदन पेस
- सडक विस्तारसँगै सम्पदा संरक्षण
- डिजिटल अर्थतन्त्र र संरचनागत सुधार: आगामी बजेटको मार्गचित्र
- आईपीएल २०२६: मुम्बई इन्डियन्सद्वारा पन्जाब किंग्स ६ विकेटले पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- धौलागिरि डायरी: उजाडिँदै पदमार्ग, सुस्ताउँदै पर्यटन