आइपीएल २०२६: सनराइजर्स हैदराबादद्वारा मुम्बई ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग २०२६ को ४१औँ खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ। मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा भएको उच्च स्कोरको प्रतिस्पर्धामा हैदराबादले २४४ रनको विशाल लक्ष्य मात्र १८.४ ओभरमा पूरा गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रनको विशाल योगफल खडा गरेको थियो। मुम्बईका लागि ओपनर र्यान रिकलटनले विस्फोटक ब्याटिङ गर्दै मात्र ५५ बलमा अविजित १२३ रन बनाए। उनले आफ्नो इनिङ्समा १० चौका र ८ छक्का प्रहार गरे, जुन मुम्बई इन्डियन्सका लागि आईपीएल इतिहासकै सबैभन्दा छिटो शतक समेत बन्यो। उनलाई विल ज्याक्स (४६ रन) र कप्तान हार्दिक पाण्ड्या (३१ रन) ले राम्रो साथ दिएका थिए।

२४४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको हैदराबादले सुरुदेखि नै आक्रामक रणनीति अपनायो। ओपनर ट्राभिस हेड र अभिषेक शर्माले पहिलो विकेटका लागि मात्र ८.४ ओभरमा १२९ रनको साझेदारी गरे। हेडले मात्र ३० बलमा ७६ रनको तूफानी इनिङ खेले भने अभिषेकले ४५ रन जोडे।

मध्य क्रममा केही विकेट छिटो झरेपछि खेलमा मुम्बईले पुनरागमन गर्ने सङ्केत देखाएको थियो। तर, दक्षिण अफ्रिकी ब्याटर हेनरिक क्लासेनले ३० बलमा ६५ रनको अविजित इनिङ खेल्दै टोलीलाई सहजै जिततर्फ लिएर गए। खेलको अन्त्यतिर सलिल अरोराले १० बलमा ३० रन जोड्दै ८ बल बाँकी छँदै हैदराबादलाई जित दिलाए।

यस जितसँगै सनराइजर्स हैदराबाद अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई इन्डियन्सका लागि प्लेअफको यात्रा थप कठिन बनेको छ। उत्कृष्ट प्रदर्शनका लागि हेनरिक क्लासेन ‘प्लेयर अफ द म्याच’ घोषित भए। मुम्बईका लागि अल्ला गजनफरले २ विकेट लिए पनि अन्य बलरहरू महँगो साबित भए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link