फेसबुक र इन्स्टाग्राममा १३ वर्षमुनिका बालबालिकालाई रोक लगाउन युरोपेली सङ्घको कडा चेतावनी

युरोपेली सङ्घले सामाजिक सञ्जालको क्षेत्रमा ठुलो कदम चाल्दै फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटा विरुद्ध औपचारिक आरोप दर्ता गरेको छ। १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई आफ्ना प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्न प्रभावकारी कदम नचालेको भन्दै ईयूले मेटालाई कडा चेतावनी दिएको हो।

बुधबार सार्वजनिक गरिएको ईयूको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार, मेटाले आफ्नै नियमहरू कार्यान्वयन गर्न असफल भएको र यसले गर्दा लाखौँ बालबालिकाहरू सुरक्षा जोखिममा परेको उल्लेख गरिएको छ।युरोपेली आयोगका अनुसार मेटाले डिजिटल सेवा ऐनको उल्लङ्घन गरेको छ।

युरोपेली आयोगले मेटाविरुद्ध लगाएका मुख्य आरोपहरूमा सबैभन्दा गम्भीर विषय कमजोर उमेर प्रमाणीकरण प्रणाली रहेको छ, जसले गर्दा बालबालिकाहरूले आफ्नो वास्तविक जन्म मिति ढाँटेर सजिलै फेसबुक र इन्स्टाग्राममा खाता खोल्न सकिरहेका छन्। आयोगको अनुसन्धानले मेटासँग यस्ता कम उमेरका प्रयोगकर्ताहरूलाई रोक्ने कुनै पनि ठोस वा प्रभावकारी प्राविधिक संयन्त्र नभएको औँल्याएको छ। यसै लापरबाहीका कारण हाल युरोपमा झन्डै १० देखि १२ प्रतिशत प्रयोगकर्ताहरू १३ वर्षमुनिका बालबालिका रहेको तथ्याङ्कले देखाउँछ, जसले कम्पनीको अनुगमन प्रणाली कति फितलो छ भन्ने प्रष्ट पार्छ।

यसका साथै, उमेर नपुगेका प्रयोगकर्ताका बारेमा उजुरी गर्ने प्रक्रियालाई पनि मेटाले निकै जटिल बनाएको आरोप लगाइएको छ। आयोगका अनुसार कुनै अभिभावक वा प्रयोगकर्ताले उमेर नपुगेको व्यक्तिको बारेमा रिपोर्ट गर्न चाहेमा उक्त फारम भेट्टाउन मात्रै कम्तीमा सात पटकसम्म क्लिक गर्नुपर्ने झन्झटिलो अवस्था छ, जसले गर्दा अवैध खाताहरू हटाउने कार्यमा थप अवरोध पुगेको छ।आयोगकी उपाध्यक्ष हेन्ना विर्ककुनेनले भनिन्, फेसबुक र इन्स्टाग्रामका नियमहरू कागजमा मात्रै सीमित हुनुहुँदैन। बालबालिकालाई साइबर बुलिङ र अनुपयुक्त सामग्रीबाट जोगाउन ती नियमहरूको ठोस कार्यान्वयन हुनुपर्छ।”

यदि यी आरोपहरू प्रमाणित भएमा र मेटाले आफ्नो कार्यप्रणालीमा सुधार नगरेमा, कम्पनीले आफ्नो विश्वव्यापी वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ। सन् २०२५ मा मेटाको आम्दानी करिब १६५ अर्ब डलर रहेको आधारमा, यो जरिवाना करिब १० अर्ब डलर (१३ खर्ब नेपाली रुपैयाँभन्दा बढी) सम्म पुग्न सक्छ।

यता मेटाले भने ईयूको यो निष्कर्षमा असहमति जनाएको छ। मेटाका प्रवक्ताले भनेका छन्, “हामीले १३ वर्षमुनिका प्रयोगकर्ताहरू पत्ता लगाउन र उनीहरूको खाता हटाउन विभिन्न प्रविधिहरू प्रयोग गरिरहेका छौँ। उमेर पहिचान गर्नु सम्पूर्ण प्रविधि उद्योगकै लागि एउटा चुनौती हो, र हामी यस विषयमा युरोपेली आयोगसँग मिलेर काम गर्न तयार छौँ।”

ईयूले यो अनुसन्धान सन् २०२४ मे महिनामा सुरु गरेको थियो। उमेरको विषयबाहेक, फेसबुक र इन्स्टाग्रामको ‘एडिक्टिभ डिजाइन’ (प्रयोगकर्तालाई लत लगाउने खालको बनावट) ले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्नेबारे पनि ईयूले छुट्टै अनुसन्धान गरिरहेको छ।

विशेष गरी सामाजिक सञ्जालमा देखिने ‘र्‍याबिट होल’ इफेक्टले बालबालिकाहरूलाई गलत बाटोमा लैजान सक्ने भन्दै नियामकहरू चिन्तित छन्।

अस्ट्रेलियाले हालै १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन ल्याएपछि युरोपमा पनि यस्तै कडा नियमको माग बढ्दै गएको छ। ईयूले अब मेटालाई यी आरोपहरूको जवाफ दिन र सुधारका उपायहरू प्रस्ताव गर्न समय दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link