आन्ध्र महसागरमा क्रुज सिपमा हन्टाभाइरसको प्रकोप: ३ जनाको मृत्यु

आन्ध्र महासागरमा यात्रा गरिरहेको एक क्रुज सिपमा हन्टाभाइरसको शङ्कास्पद प्रकोप फैलिँदा तीन जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले आइतबार उक्त घटनाको पुष्टि गरेको छ।

अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको ‘एमभी होन्डियस’ नामक उक्त क्रुजमा यो प्रकोप देखिएको हो। अधिकारीहरूका अनुसार, यस प्रकोपबाट हालसम्म ३ जनाको मृत्यु भइसकेको छ भने अन्य केही व्यक्तिहरू सङ्क्रमित भएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारी अनुसार, यो प्रकोपका कारण प्रभावित ६ जनामध्ये ३ जनाले ज्यान गुमाएका छन्। बाँकी सङ्क्रमित मध्ये एक जनाको दक्षिण अफ्रिकाको अस्पतालमा सघन उपचार भइरहेको छ। जहाजमा रहेका अन्य केही यात्रुहरूमा पनि लक्षण देखिएपछि उनीहरूको स्वास्थ्य परीक्षण र उपचार प्रक्रिया अगाडि बढाइएको छ।

जहाज सञ्चालक कम्पनी ‘ओशनवाइड एक्सपिडिसन्स’ का अनुसार, जहाज हाल केप भर्डेको प्रायद्वीप नजिक रोकिएको छ। जहाजमा रहेका यात्रु र चालक दलका सदस्यहरूलाई आवश्यक मेडिकल सहयोग उपलब्ध गराउन डब्लूएचओले समन्वय गरिरहेको छ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले घटनाप्रति चिन्ता व्यक्त गर्दै भाइरस नियन्त्रण र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि तत्काल कदम चालिएको जानकारी दिएका छन्। उनले भनेका छन्, “हामी जहाजमा रहेका बिरामीहरूको उद्धार र जोखिमको पूर्ण मूल्याङ्कनका लागि स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेका छौँ।”

मृतकहरूमध्ये एक दम्पती (७० र ६९ वर्षीय) नेदरल्याण्डका नागरिक रहेका थिए। उनीहरूमध्ये एकको सेन्ट हेलेना टापुमा र अर्को एकको दक्षिण अफ्रिकाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। तेस्रो मृतक एक बेलायती नागरिक हुन्।

हन्टाभाइरस सामान्यतया मुसाको पिसाब, दिसा वा र्यालको सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ। यो दुर्लभ र घातक रोग मानिन्छ, जसले मानिसमा गम्भीर श्वासप्रश्वास र मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ। यद्यपि, केही दुर्लभ अवस्थामा यो मानिसबाट मानिसमा पनि सर्न सक्ने सम्भावना रहने विज्ञहरू बताउँछन्।

हाल सो जहाजमा रहेका करिब १५० जना पर्यटक र चालक दलका सदस्यहरूको स्वास्थ्य अवस्थामाथि निगरानी बढाइएको छ। अनुसन्धानकर्ताहरूले भाइरसको उत्परिवर्तन र सङ्क्रमणको स्रोतबारे थप प्रयोगशाला परीक्षण गरिरहेका छन्।

यो घटनाले क्रुज यात्रा र अन्तर्राष्ट्रिय जलयात्रामा स्वास्थ्य सुरक्षाको मापदण्डबारे पुनः एक पटक बहस सिर्जना गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link