संयुक्त राज्य अमेरिकाले आगामी सन् २०२६ को फिफा विश्वकप हेर्न आउने विदेशी फुटबल प्रशंसकहरूका लागि एउटा ठुलो राहतको घोषणा गरेको छ। अमेरिकी प्रशासनले केही निश्चित देशका नागरिकहरूका लागि लागू गरिएको १५,००० अमेरिकी डलर (करिब २० लाख नेपाली रुपैयाँ) को विवादास्पद ‘भिसा डिपोजिट’ प्रावधानलाई विश्वकप अवधिभरका लागि हटाउने निर्णय गरेको छ।
बिहीबार बिबिसी र सीएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको रिपोर्ट अनुसार, वैध म्याच टिकट भएका प्रशंसकहरूले अब अमेरिका प्रवेशका लागि यो ठुलो धरौटी रकम बुझाउनु पर्ने छैन।
अमेरिकी गृह मन्त्रालयले गत वर्षदेखि ५० वटा विकासोन्मुख देशका नागरिकहरूका लागि एउटा पाइलट प्रोजेक्ट सुरु गरेको थियो। यस अन्तर्गत, भिसा अवधि सकिएपछि पनि अमेरिकामै लुकेर बस्ने सम्भावना भएका देशका यात्रीहरूले ५,००० देखि १५,००० डलरसम्म धरौटी रकम बुझाउनु पर्ने नियम थियो। यो रकम यात्री आफ्नो देश फर्किएपछि मात्र फिर्ता हुने व्यवस्था थियो।
विशेष गरी अफ्रिकी र केही एसियाली मुलुकका नागरिकहरूका लागि यो आर्थिक भार निकै ठुलो मानिएको थियो। धेरैले यसलाई ‘विभेदकारी’ र ‘धनीका लागि मात्रै फुटबल’ भन्दै आलोचना गरेका थिए।
विश्वकपको सङ्घारमा अमेरिकी कन्सुलर मामिलाका सहायक सचिव मोरा नामदारले बिबिसीलाई दिएको जानकारी अनुसार, “योग्य प्रशंसक जसले विश्वकपको टिकट किनेका छन्, उनीहरूका लागि हामीले भिसा बन्ड (धरौटी) को आवश्यकतालाई हटाएका छौँ।”
यो निर्णयले विशेष गरी अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगल र ट्युनिसिया जस्ता देशका प्रशंसकहरूलाई फाइदा पुग्नेछ, जो यस पटकको विश्वकपका लागि छनोट भएका छन् र धरौटी नियमको सूचीमा पनि परेका थिए। यी देशहरूका लागि १५,००० डलर भनेको औसत वार्षिक आम्दानीभन्दा कैयौँ गुणा बढी रकम हो।
यसअघि खेलाडी, प्रशिक्षक र अन्य अधिकारीहरूलाई यो नियमबाट छुट दिइएको भए तापनि साधारण समर्थकहरू भने अन्योलमा थिए। नयाँ निर्णयसँगै अब टिकट भएका जोसुकै समर्थकले पनि आर्थिक धरौटीको चिन्ता नगरी भिसा प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
फिफाले अमेरिकी सरकारको यस कदमको स्वागत गरेको छ। फिफाका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो निर्णयले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको विश्वकपलाई भव्य र समावेशी बनाउन मद्दत गर्नेछ। हामी अमेरिकी प्रशासनसँगको यो सहकार्यप्रति आभारी छौँ।”
यद्यपि, भिसा धरौटी हटाइए पनि अन्य सुरक्षा जाँच र भिसा प्रक्रियाहरू भने यथावत रहनेछन्। इरान र हाइटी जस्ता केही देशका नागरिकहरूमाथि लगाइएको कडा यात्रा प्रतिबन्धमा भने कुनै ठोस फेरबदल गरिएको छैन। साथै, केही देशका यात्रीहरूले भिसा आवेदनका क्रममा आफ्नो पछिल्लो पाँच वर्षको सामाजिक सञ्जालको विवरण पनि उपलब्ध गराउनुपर्ने नियम कायमै छ।
सन् २०२६ को विश्वकप फुटबलको इतिहासमै सबैभन्दा ठुलो प्रतियोगिता हुनेछ। पहिलो पटक ४८ वटा राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा ८० वटा खेलहरू हुनेछन्। अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कुल १६ वटा सहरहरूमा खेलहरू सञ्चालन हुनेछन्।
जुन ११ देखि जुलाई १९ सम्म चल्ने यो फुटबल महाकुम्भमा विश्वभरबाट लाखौँ दर्शकहरू उत्तर अमेरिका पुग्ने अपेक्षा गरिएको छ। अमेरिकी सरकारको यो पछिल्लो निर्णयले रङ्गशालामा आफ्ना देशको समर्थन गर्न पुग्ने न्यून र मध्यम आय भएका देशका प्रशंसकहरूको सपना साकार हुने देखिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी; इरानद्वारा ‘अड्कलबाजी मात्रै’ भएको टिप्पणी
- अमेरिका र इरानबिच पुनः भीषण आक्रमण सुरु: ट्रम्पद्वारा ‘कडा प्रहार’ गर्ने चेतावनी, स्ट्रेट अफ हर्म्युज बन्द
- विश्वकप २०२६ भिसा संकट: रेफ्री आर्टनदेखि इरानी अधिकारीहरूसम्म–को-को परे मारमा?
- फिलिपिन्समा शक्तिशाली भूकम्प: कम्तीमा ३५ जनाको मृत्यु
- फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- सेन्ट पिटर्सबर्गमा युक्रेनको ‘अभूतपूर्व’ ड्रोन आक्रमण
- युक्रेन युद्ध अन्त्यका लागि जेलेन्स्कीसँगको भेटवार्ता ‘निरर्थक’ छ: पुटिन
- जेलेन्स्कीद्वारा पुटिनलाई खुला पत्र: ‘युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गरौँ’
- उत्तर कोरियाको नयाँ आणविक संयन्त्र सार्वजनिक
- फिफाविरुद्ध अहिलेसम्मकै ठुलो उजुरी दिने अभियान सुरु