पृथ्वी राजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिइएको हो।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिइएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। एसियाली विकास बैंक (एडिबी)को करिब छ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति भएको ४१ किलोमिटर सडकखण्डको निर्माण पूरा भइसकेको छ।
“सडक विस्तारका क्रममा विस्थापित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले करिब दुई करोड रुपैयाँ विनियोजन गरेको थियो। विनियोजित बजेटबाट अधिकांश मठमन्दिर र पाटीपौवाको पुनर्निर्माण धमाधम भइरहेको छ”, उनले भने, “व्यास नगरपालिका–१२ घाँसीकुवामा रहेको ऐतिहासिक भानु–घाँसी पार्क र कुवाको पुनर्निर्माणका लागि समेत विशेष तयारी भइरहेको छ।”
भानु–घाँसी पार्क संरक्षण समितिले तयार पारेको तीन करोड रुपैयाँको बृहत् गुरुयोजनाअनुसार पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीको ऐतिहासिक प्रसङ्ग जोडिएको यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
सडक कालोपत्रे, लेन मार्किङ र अन्य प्राविधिक काम सकिएसँगै अब सडक किनारका संरचना र सांस्कृतिक सम्पदालाई व्यवस्थित बनाउने काम भइरहेको हो। आयोजनाले भौतिक विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणलाई स्थानीय समितिको सहकार्यमा निर्माण कार्य धमाधम भइरहेको छ। विसं २०७७ माघमा ठेक्का सम्झौता भएर सुरु भएको यो आयोजना नेपालको लाइफ लाइन मानिने राजमार्गको नमुना विस्तारका रूपमा हेरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नवरात्रको छैटौँ दिन: कात्यायनी देवीको उपासना
- आजको मौसम अपडेट: पहाड र हिमालमा बादल, तराईमा हुस्सु
- आजको लागी विदेशी मुद्राको विनिमय दर
- फर्से बस्ती बगर बन्दा खल्लो बनेको दसैँ
- च्याम्पियन्स लिग: ८३ मिनेटसम्म ३-१ ले पछाडि परेको रियल म्याड्रिडको रोमाञ्चक पुनरागमन
- आज नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको आराधना र पूजा
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- छ वटा प्रदेशमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
- कागजमै सीमित तनहुँका पूर्वाधार आयोजना
- नर्ड स्ट्रिम पाइपलाइन विस्फोट: युक्रेनी पूर्वसैन्य अधिकारीमाथि जर्मनीमा मुद्दा सुरु