आईपीएल २०२६: मिचेल मार्सको विस्फोटक ब्याटिङ, लखनउद्वारा चेन्नाई ७ विकेटले पराजित

इन्डियन प्रिमियर लिग २०२६ को ५९औँ खेलमा लखनउ सुपर जाइन्ट्सले चेन्नाई सुपर किंग्स विरुद्ध ७ विकेटको शानदार जित दर्ता गरेको छ। गए राति लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा भएको खेलमा चेन्नाईले दिएको १८८ रनको लक्ष्य लखनउले मात्र १६.४ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो।

लखनउको जितका मुख्य नायक अस्ट्रेलियाली ब्याटर मिचेल मार्स रहे। उनले मात्र ३८ बलमा ९ चौका र ७ छक्काको मद्दतले ९० रनको विस्फोटक इनिङ खेले। उनलाई अर्का ओपनर जोस इंग्लिसले ३६ रन बनाएर बलियो साथ दिए। यी दुईबिच पहिलो विकेटका लागि १३५ रनको साझेदारी भएको थियो। मार्स दुर्भाग्यवश रन आउट भए पनि निकोलस पुरनले १७ बलमा अविजित ३२ रन जोड्दै टोलीलाई २० बल अगावै जित दिलाए। चेन्नाईका लागि मुकेश चौधरी र स्पेन्सर जोनसनले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रनको बलियो योगफल खडा गरेको थियो। चेन्नाईका लागि कार्तिक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ७१ रनको योगदान दिए भने शिवम दुबेले १६ बलमा ३२ रनको विस्फोटक अविजित इनिङ खेले। लखनउका बलर आकाश सिंहले कसिलो बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए भने मोहम्मद शामी र शाहबाज अहमदले १–१ विकेट हात पारे।

खेलमा उत्कृष्ट ब्याटिङ गरेका मिचेल मार्स ‘प्लेयर अफ द म्याच’ चुनिए। लखनउले आफ्नो घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै समर्थकहरूलाई रोमाञ्चक जितको उपहार दिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link