ट्रम्प र सीबिच बेइजिङ वार्ता सम्पन्न, सम्बन्ध सुधारको दाबी तर ठुला सम्झौता भने ओझेलमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दुई दिने चीन भ्रमणलाई “अत्यन्तै सफल” भन्दै दुवै देशको हितमा दूरगामी आर्थिक सम्झौताहरू भएको दाबी गरेका छन्। यद्यपि, विश्वका यी दुई महाशक्ति राष्ट्रहरूबिच वास्तवमा कुन-कुन विषयमा ठोस सहमति भयो भन्नेबारे विस्तृत विवरणहरू अझै बाहिर आउन सकेका छैनन्।

उच्च जोखिम र ठुलो अपेक्षाबिच राष्ट्रपति ट्रम्प बुधवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर वार्ताका लागि बेइजिङ आइपुगेका थिए। ट्रम्पको साथमा कृषि, उड्डयन, इलेक्ट्रिक सवारी साधन, र आर्टिफिसियल इन्टेलिजेन्स चिप्स उत्पादन क्षेत्रका प्रतिष्ठित अमेरिकी उद्योगपति तथा प्रमुख कार्यकारी अधिकृतहरूको ठुलो टोली थियो। विशेष गरी इरान युद्धलाई लिएर विश्वव्यापी तनाव बढिरहेको बेला यो भ्रमणमा व्यापारिक मुद्दालाई नै प्रमुख प्राथमिकतामा राखिएको थियो। आगामी नोभेम्बरमा समाप्त हुन लागेको भन्सार महसुल स्थगनको अवधि थप गर्ने विषयमा अमेरिकी व्यवसायीहरूले ठुलो आशा राखेका थिए।

दुई दिने भ्रमणका क्रममा चिनियाँ पक्षले ट्रम्पलाई निकै भव्य र सम्मानजनक स्वागत गरेको थियो। चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू बस्ने र कार्य गर्ने विशेष सरकारी परिसरमा ट्रम्पका लागि रात्रि भोज र गार्ड अफ अनरको आयोजना गरिएको थियो। चिनियाँ आतिथ्यबाट प्रभावित बन्दै ट्रम्पले राष्ट्रपति सी जिनपिङलाई आगामी सेप्टेम्बरमा ह्वाइट हाउस भ्रमणको निमन्त्रणा दिएका छन्। ट्रम्पले यो वार्तालाई ऐतिहासिक रूपमा सफल बताएका छन् भने राष्ट्रपति सीले यसलाई दुई देशको सम्बन्धमा एउटा महत्त्वपूर्ण कोशढुङ्गाको संज्ञा दिएका छन्। चिनियाँ विदेश मन्त्री वाङ यीले पनि राष्ट्रपति सीले आगामी शरद् ऋतुमा वासिङ्टनको भ्रमण गर्ने पुष्टि गरिसकेका छन्।तर, यति हुँदाहुँदै पनि दुवै पक्षबाट कुनै ठुलो व्यापारिक सम्झौता वा ठोस नीतिगत परिवर्तनको औपचारिक घोषणा भने हुन सकेन। राष्ट्रपति ट्रम्पले एयर फोर्स वान विमानमा पत्रकारहरूसँग कुरा गर्दै चीनले २०० वटा बोइङ जेट विमान खरिद गर्न सहमति जनाएको र भविष्यमा थप ७५० वटा विमान किन्न सक्ने सम्भावना रहेको दाबी गरे। विमान निर्माता कम्पनी बोइङले पनि यसको पुष्टि गरेको छ। यदि यो सम्झौता पूर्ण रूपमा कार्यान्वयन भएमा, विगत एक दशकमा बोइङले चिनियाँ बजारमा पाएको यो नै सबैभन्दा ठुलो व्यापारिक सफलता हुनेछ। यसअघि दुई देशबिचको व्यापारिक युद्धका कारण अमेरिकी बोइङ विमानहरू चिनियाँ बजारमा पछि परेका थिए।

यसका साथै ट्रम्पले चिनियाँ पक्षले अर्बौँ डलर बराबरको अमेरिकी भटमास खरिद गर्ने सहमति गरेको भन्दै अमेरिकी किसानहरू यो वार्ताबाट निकै खुसी हुने दाबी गरे। तर, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने ट्रम्पको यस दाबीमाथि सिधा टिप्पणी गरेनन्। उनले चीन-अमेरिका आर्थिक सम्बन्धको मूल मर्म नै आपसी हित र “win-win” सहकार्य भएको मात्र बताए।

यो भ्रमणको अर्को रोचक पक्ष अमेरिकी डेलिगेसनमा देखिएको प्राविधिक क्षेत्रका दिग्गजहरूको उपस्थिति थियो। टेस्लाका सिइओ एलन मस्क, एनभिडियाका प्रमुख जेन्सन हुआङ जस्ता व्यक्तिहरू ट्रम्पसँगै बेइजिङ ओर्लिएका थिए। विशेष गरी एनभिडियाका प्रमुख हुआङको आकस्मिक सहभागिताले अमेरिका र चीनबिच एआई प्रविधि र सेमिकन्डक्टर (चिप्स) को पहुँचबारे गम्भीर छलफल भएको सङ्केत गर्छ।

वर्तमान समयमा इलेक्ट्रिक गाडी र एआई चिप्स दुवै देशका लागि रणनीतिक प्रतिस्पर्धाको क्षेत्र बनेका छन्। अमेरिकी निर्यात नियन्त्रणका कारण एनभिडियाले चीनमा आफ्ना अत्याधुनिक एआई चिप्सहरू बेच्न पाएको छैन। अर्कोतर्फ, बेइजिङले आफ्ना औद्योगिक विकासमा अमेरिकी प्रतिबन्धहरू बाधक बनेको भन्दै आलोचना गर्दै आएको छ। एआई प्रविधिको बढ्दो जोखिम र यसको नियमनका लागि दुवै देश मिलेर “स्ट्यान्डर्ड गार्डराईल” (सुरक्षात्मक मापदण्ड) बनाउने विषयमा कुराकानी भएको ट्रम्पले उल्लेख गरे।

व्यापारिक कुराकानीका बिच चीनले यस पटक ताइवानको मुद्दालाई आर्थिक सम्बन्धसँग जोडेर स्पष्ट ‘रेड लाइन’ कोरेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले ट्रम्पलाई चेतावनी दिँदै भने, “ताइवानको प्रश्न चीन-अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण विषय हो। यदि यसलाई सही ढङ्गले सम्बोधन गरिएन भने दुई देशबिच सिधा टकराब वा द्वन्द्वको स्थिति आउन सक्छ।”

त्यस्तै, मध्यपूर्वमा जारी इरान युद्ध र हर्मुट स्ट्रेटको नाकाबन्दीका कारण विश्व बजारमा तेलको मूल्यमा देखिएको उतारचढावबारे पनि दुई नेताबिच छलफल भएको थियो। ट्रम्पले इरानलाई शान्त पार्न चीनले आफ्नो प्रभाव प्रयोग गरोस् भन्ने चाहना राखेका थिए। तर चिनियाँ पक्षले यसमा केवल “पूर्ण र दिगो युद्ध विराम” को माग गर्दै जलमार्गहरू सुरक्षित हुनुपर्ने गोलमटोल जवाफ मात्र दिएको छ।

आगामी सेप्टेम्बरमा ह्वाइट हाउसमा हुने दोस्रो शिखर वार्ताअघि दुवै देशका अधिकारीहरूबिच यी थाती रहेका मुद्दाहरूमा थप छलफल हुने अपेक्षा गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link