आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस

आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।

‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ।

‘डिजिटल विभाजन’ भन्नाले सूचना तथा सञ्चार प्रविधि (इन्टरनेट, कम्प्युटर, स्मार्टफोन आदि) मा पहुँच भएका र पहुँच नभएका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई जनाउँछ। विशेषगरी इन्टरनेट सेवा, प्रविधिको प्रयोग गर्ने सीप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरको उपलब्धता र अनुलब्धता हो। शहरबजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्तो सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो।

विश्व दूरसञ्चार दिवस सन् १९६९ देखि मनाउन प्रारम्भ भएको हो। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ। सन् १९७३ मा स्पेनको मालागा–टोरेमोलिनोसमा सम्पन्न आइटियुको पूर्णाधिकार सम्मेलनले प्रस्ताव नं ४६ मार्फत यस दिवसलाई औपचारिक मान्यता दिएको हो।

त्यसैगरी, सूचना समाजसम्बन्धी विश्व शिखर सम्मेलन (डब्ल्युएसआइएस) ले सन् २००५ मा संयुक्त राष्ट्रसंघीय महासभालाई मे १७ लाई ‘विश्व सूचना समाज दिवस’ घोषणा गर्न आग्रह गरेको थियो। सूचना समाजसँग सम्बन्धित विविध विषय तथा सूचना–प्रविधिको महत्वप्रति ध्यानाकर्षण गराउने उद्देश्यसहित महासभाले सन् २००६ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष यो दिवस मनाउने निर्णय गरेको हो।

राष्ट्रसंघका अनुसार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको मुख्य उद्देश्य इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगबाट समाज र अर्थतन्त्रमा हासिल गर्न सकिने अवसरबारे चेतना फैलाउनुका साथै सबै नागरिकलाई डिजिटल पहुँचमा जोड्ने वातावरण सृजना गर्नु हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link