मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ। लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरला नाकामा थप सञ्चार उपकरण जडान गरिएको जनाएको छ।
कोरला नाकामा तीन वर्षअघि नेपाल टेलिकम जोमसोमले सञ्चारको पहुँच स्थापित गर्न माइक्रोवेब रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो। कोरला नाकामा त्रिपाल टाँगेर व्यापार गरी बस्ने व्यवसायी र अवलोकनका लागि जाने पर्यटकको सहजताका लागि सञ्चारको पहुँच स्थापित गरिएको थियो।
कोरला नाकामा सञ्चारको पहुँच स्थापना गरिएको भए पनि माइक्रोवेब रेडियो लिंकका लागि उपकरण क्षमता कम हुँदा सञ्चार सुविधा भरपर्दो बन्न सकेको थिएन। नेपाल विद्युत् प्राधिकरणले विद्युत् पोल विस्तार गरिसकेको भए पनि प्रसारण लाइन सञ्चालनमा आएको छैन। नाकामा विद्युतीय सेवा नहुँदाको विकल्पमा सौर्य ऊर्जाको सहायताबाट टावर सञ्चालन गरिएको थियो।
जोमसोमस्थित टेलिकम कार्यालयका प्रमुख हुमबहादुर भुजेलका अनुसार कोरला नाकामा देखिएको टेलिफोन र इन्टरनेट समस्या समाधान गर्न सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलार प्यानलको क्षमता दोब्बर पारिएको छ।
कोरला नाकामा खटिएका प्राविधिकसहितको टोलीले यहाँ रहेको माइक्रोवेब रेडियो लिंकको बिटिएस टावरलाई सहज रूपमा सञ्चालन गर्न तथा टुजी र फोरजी बिटिएस टावरको ब्याट्री ब्याकअफ र सोलार प्यानलको संख्या बढाइएको प्रमुख भुजेलको भनाइ छ। उनका अनुसार बिटिएस टावरका लागि २० वटा सोलार प्यानल र १५० एम्पियरको तीनवटा ब्याट्री ब्याकअफ थप गरिएको हो।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बिटिएस टावरको क्षमता बढाइपछि २४सै घण्टा मोबाइल नेटवर्क र इन्टरनेटको सुविधा राम्रो भएको बताए। कोरलानाका टुजी र फोरजीसहितको मोबाइल नेटवर्कमा सुधार गरिएसँगै व्यापारी तथा पर्यटकलाई सहज भएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: पहिलो खेलमै अमेरिकाको शानदार सुरुवात, पाराग्वे ४–१ ले पराजित
- भौतिक पूर्वाधार बलियो तर कक्षाकोठा रित्तो
- कैलालीमा वन अतिक्रमण विरुद्ध ठुलो ‘एक्शन’
- मेटाको ह्वाट्सएपद्वारा एनएसओ ग्रुप विरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी
- पूर्ण खोप सुनिश्चिततातर्फ कालीकोट
- अब तनहुँमा पनि रुद्राक्ष पकेट क्षेत्र
- फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबिचकोखेल १-१ को बराबरीमा टुङ्गियो
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम
- फिफा विश्वकप २०२६: दोस्रो दिन सह-आयोजक क्यानडा र अमेरिका मैदानमा उत्रिँदै