रेडपाण्डाको सङ्ख्या र स्वास्थ्य बुझ्न स्वचालित क्यामेरा जडान

संकटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ।

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ विधिबाट हाब्रेको अवस्था पहिचान गर्न थालिएको हो।

बोयोकस नेपालका कार्यक्रम अधिकृत पवन राईले हाब्रेको आवतजावत हुने सम्भावित र दिसा भेटिएका ठाउँमा १२ वटा स्वचालित क्यामेरा जडान गरिएको जानकारी दिए। “क्यामेरामा कैद हुने दृश्यको आधारमा रेडपाण्डाको अनुमानित सङ्ख्या पहिचान गर्न सहयोग पुग्नेछ”, उनले भने, “यस क्षेत्रमा हाब्रेको पेट र आन्द्रामा हुने परजीवी (किरा/जुका)को अवस्थाका विषयमा पनि अध्ययन भइरहेको छ।”

हाब्रेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र संरक्षणमा सहयोग गर्ने उद्देश्यले हाब्रेको दिसाको परीक्षण गरी अध्ययन गर्न प्राविधिक टोली परिचालन भएको छ। समुद्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।

यसअघि जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपाण्डा भेटिएको कार्यक्रम अधिकृत राईले बताए। सो क्षेत्रमा छ वटादेखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको उनले बताए।

स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन शिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दह पातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए।

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपाण्डाको दिसा भेट्टाएका थिए। रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोमा रूखका हाँगा बसी आराम गर्ने रेडपाण्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुईँमा झर्छ।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिंगो र टोट्का परेका रुख गूर्जा, लुलाङ र मुनाको जंगलमा पर्याप्त छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु. एक लाखदेखि रु. पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। पछिल्लो अध्ययनअनुसार हाब्रेको सङ्ख्या नेपालमा ५०० देखि एक हजार वटा रहेको अनुमान गरिएको छ। विश्वमा नेपाल, चिन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको वासस्थान छ। नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link