बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ। गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीको बिरुवा लगाएको हो।
प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।
समुन्द्री सतहदेखि करिब दुई हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडामा जडीबुटी राम्रो उत्पादन हुने उनको भनाइ छ।
गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जडीबुटीको बिरुवा लगाएको अध्यक्ष बुढामगरले बताए। सोलेडाँडा छेउको जंगलमा तारबार लगाएर पार्क निर्माण गरी चिराइलो, अर्सोगन्धलगायत विभिन्न प्रजातिका जडीबुटी यहाँ लगाइएको उनको भनाइ छ।
“सोलेडाँडा आफैँमा पर्यटकीय क्षेत्र हो, यहाँ पछिल्लो समय उल्लेख्य पर्यटकको आगमन हुन थालेको छ, हामीहरूले नयाँ सोचका साथ जडीबुटी पार्कसमेत बनाएका छौँ”, अध्यक्ष बुढामगरले भने, “अब सोलेडाँडा घुमफिर गर्ने र रमाउने ठाउँ मात्रै होइन, अनुसन्धान गर्ने क्षेत्रका रूपमा पनि विकास गर्ने उद्देश्यले जडीबुटी पार्क बनाएका हौँ, यहाँ अझै धेरै जडीबुटीका बिरुवा लगाउने योजनामा छौँ।”
गाउँपालिकाले जडीबुटी पार्कका लागि हालसम्म करिब रु सात लाखभन्दा बढी रकम खर्च गरिसकेको छ। पछिल्लो समय सोलेडाँडामा दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीय तमबहादुर सिर्पालीले बताए।
गाउँपालिकाले पर्यटन पूर्वधारसहित सहिद पार्कलगायत पूर्वाधार निर्माणसँगै जडीबुटी पार्क बनाएपछि टाढा टाढाबाट अध्ययन अवलोकन गर्न आउनेको सङ्ख्यासमेत बढ्न थालेको उनको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?
- सैन्य क्षेत्रमा एआईको होडबाजी र बढ्दो वैश्विक चुनौती: प्रतिबन्ध र नियमनका लागि कडा प्रयास
- इलाममा ड्रागन फ्रुटको ‘क्रेज’: बगानमै आउँछन् व्यापारी