अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि भइरहेको प्रयास सकारात्मक दिशातर्फ उन्मुख भए पनि इरानसँग ‘हतारमा सम्झौता नगर्न’ आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको स्पष्ट पारेका छन्। सम्झौताको हतारो नगर्न आफ्ना प्रतिनिधिहरूलाई सचेत गराउँदै उनले पूर्ण रूपमा प्रमाणित र हस्ताक्षर नभएसम्म इरानमाथिको नाकाबन्दी पूर्ण शक्ति र प्रभावका साथ जारी रहने चेतावनी समेत दिएका छन्।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ देखि इरानमाथि सुरु गरेको सैन्य आक्रमणको जवाफमा तेहरानले आर्थिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गको यातायातमा अवरोध सिर्जना गरेको थियो। इरानको सोही कदमको प्रतिवाद स्वरूप अमेरिकाले गत अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा कडा नाकाबन्दी लगाएको घोषणा गरेको थियो। हाल अमेरिका र इरानबिच नयाँ युद्ध विराम सम्झौताको खाका तयार भइरहेको समाचारहरू सार्वजनिक भइरहेका बेला राष्ट्रपति ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो
इरानसँग सम्झौताको अन्तिम तयारी भइरहँदा वासिङ्टनको राजनीतिक वृत्तमा भने रातारात द्विदलीय विरोध चर्किएको छ। थुप्रै वर्तमान तथा पूर्व सांसद र सरकारी अधिकारीहरूले सम्झौताका कथित बुँदाहरूको कडा आलोचना गरिरहेका छन्। यही पृष्ठभूमिमा राष्ट्रपति ट्रम्पले सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा इरानसँग गरिएको आणविक सम्झौताको तीव्र आलोचना गरेका छन्। विगतको गल्ती नदोहोऱ्याउन जोड दिँदै ट्रम्पले दुवै पक्षले पर्याप्त समय लिएर मात्र सम्झौतालाई सही रूप दिनुपर्ने धारणा राखेका छन्।
यता ह्वाइट हाउसले सम्भावित सम्झौताका सर्तहरूलाई अझै गोप्य नै राखेको छ। यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार सरकारी टेलिभिजनमार्फत दुवै देश १४ वटा धाराहरू समेटिएको एक प्रकारको सम्झौताको ढाँचा अर्थात् ‘समझदारी पत्र’ को अन्तिम तयारी नजिक पुगेको दाबी गरेका छन्। वार्ता निष्कर्षोन्मुख देखिए पनि ट्रम्पको पछिल्लो अडानले सम्झौता परिपक्व हुन अझै केही समय लाग्ने सङ्केत गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी; इरानद्वारा ‘अड्कलबाजी मात्रै’ भएको टिप्पणी
- अमेरिका र इरानबिच पुनः भीषण आक्रमण सुरु: ट्रम्पद्वारा ‘कडा प्रहार’ गर्ने चेतावनी, स्ट्रेट अफ हर्म्युज बन्द
- विश्वकप २०२६ भिसा संकट: रेफ्री आर्टनदेखि इरानी अधिकारीहरूसम्म–को-को परे मारमा?
- फिलिपिन्समा शक्तिशाली भूकम्प: कम्तीमा ३५ जनाको मृत्यु
- फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- सेन्ट पिटर्सबर्गमा युक्रेनको ‘अभूतपूर्व’ ड्रोन आक्रमण
- युक्रेन युद्ध अन्त्यका लागि जेलेन्स्कीसँगको भेटवार्ता ‘निरर्थक’ छ: पुटिन
- जेलेन्स्कीद्वारा पुटिनलाई खुला पत्र: ‘युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गरौँ’
- उत्तर कोरियाको नयाँ आणविक संयन्त्र सार्वजनिक
- फिफाविरुद्ध अहिलेसम्मकै ठुलो उजुरी दिने अभियान सुरु