बागलुङको तमानखोला गाउँपालिकाले बाँझो र अलपत्र अवस्थामा रहेका सार्वजनिक जग्गालाई उत्पादन र आयआर्जनसँग जोड्ने उद्देश्यले व्यावसायिक स्याउ खेती सुरु गरेको छ। गाउँपालिकाले वडा नम्बर ४ स्थित गोरदी र बयलीमा रहेका सार्वजनिक जग्गाको झाडी बुट्यान सफा गरी २४ रोपनी क्षेत्रफलमा रु ४० लाखको लागतमा आधुनिक स्याउ बगैँचा निर्माण गरेको हो।
हाल उक्त बगैँचामा जग्गाको संरक्षण, मजबुत तारबार र अत्याधुनिक थोपा सिँचाइ (Drip Irrigation) प्रविधिको व्यवस्था मिलाएर १ हजार ४०० वटा स्याउका बिरुवाहरू हुर्काइँदै छ। मुस्ताङबाट ल्याएर एक वर्षअघि रोपिएका यी बिरुवाहरूले आगामी ४ देखि ५ वर्षभित्र व्यावसायिक रूपमा फल दिन थाल्नेछन्।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाका अनुसार हाल यी बगैँचाको रेखदेख र संरक्षण सम्बन्धित वडा कार्यालयको मातहतमा भइरहेको छ। “बगैँचाले पूर्ण रूपमा प्रतिफल दिन थालेपछि कार्यविधि बनाएर यो योजना स्थानीय समुदायलाई नै हस्तान्तरण गरिनेछ,” अध्यक्ष बुढाले बताए। यो नौलो प्रयासले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै गाउँपालिकाको आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पालिकाले गरेको लगानीको प्रतिफल उठाउने र समुदायमा संरक्षणका लागि स्याउ बगैँचा हस्तान्तरण गर्ने गरी अहिले वडा कार्यालयले स्याउ बगैँचा विस्तार र संरक्षणको काम गरिरहेको छ।
गाउँपालिकाको ठुलो लगानीमा खेर गएको सार्वजनिक जग्गा सदुपयोग गर्दै कृषिलाई पर्यटनसँग जोड्नेगरी काम गरिरहेको तमानखोला गाउँपालका–४ का अध्यक्ष छ प्रसाद श्रीपालीले जानकारी दिए।
“गाउँपालिकाले उत्पादनको नीति ल्याएको हो, उत्पादनमा नोजोडिने हो भने गाउँको जमिन खाली हुन्छ, हामीले खेर गएको सार्वजनिक जग्गा व्यवस्थापन गरेर सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरेको हो”, श्रीपालीले भने, “चौबिस रोपनी जग्गामा एकसाथ स्याउ फल्दा कृषिमा जोडेर पर्यटनको समेत विकास गर्ने र बयलीमा स्याउ बगैँचाका बीचमा रिसोर्ट बनाउने योजना छ।”
गोरदीमा रु सात लाख र बयलीमा रु ३३ लाख खर्च गरेर तारबार, सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरिएको हो। सार्वजनिक जग्गालाई तारबार गरेर बिरुवा लगाउँदा संरक्षण भएको र उत्पादन खेर जाने समस्या अन्त हुने विश्वास गरिएको छ।
मुस्ताङबाट पाँच वर्षभित्रै फल्ने गाला र गोल्डेन जातको स्याउको बिरुवा सम्भाव्यता अध्ययन गरेपछि लगाइएको गाउँपालिकाका कृषि प्राविधिक विधान बगालेले जानकारी दिए। समुन्द्र सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा चिसो मौसममा स्याउ राम्रो फल्ने सम्भावना रहेको बगालेको भनाइ छ। स्याउले उत्पादन राम्रो दिएमा पर्यटनलाई लक्षित गरेर घरबास र रिसोर्ट लगायतको पूर्वाधारमा पालिकाले थप लगानी गर्ने योजना बनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: पहिलो खेलमै अमेरिकाको शानदार सुरुवात, पाराग्वे ४–१ ले पराजित
- भौतिक पूर्वाधार बलियो तर कक्षाकोठा रित्तो
- कैलालीमा वन अतिक्रमण विरुद्ध ठुलो ‘एक्शन’
- मेटाको ह्वाट्सएपद्वारा एनएसओ ग्रुप विरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी
- पूर्ण खोप सुनिश्चिततातर्फ कालीकोट
- अब तनहुँमा पनि रुद्राक्ष पकेट क्षेत्र
- फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबिचकोखेल १-१ को बराबरीमा टुङ्गियो
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम
- फिफा विश्वकप २०२६: दोस्रो दिन सह-आयोजक क्यानडा र अमेरिका मैदानमा उत्रिँदै