अमेरिका र इरानबिच युद्ध विराम र शान्ति सम्झौताका लागि कूटनीतिक प्रयास जारी रहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानी क्षेप्यास्त्र प्रहार केन्द्र र स्ट्रेट अफ हर्मुजमा समुद्री सुरुङ (माइन्स) बिछ्याउन खोजिरहेका इरानी डुङ्गाहरूलाई लक्षित गरी यो आक्रमण गरिएको हो।
अमेरिकी कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले आफ्ना सैनिकहरूको सुरक्षाका लागि “आत्मरक्षा” स्वरूप यो कदम चालिएको बताएका छन्। न्यु योर्क टाइम्सका अनुसार इरानको मुख्य नौसैनिक बेस रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै यो आक्रमण भएको हो। इरानी सञ्चारमाध्यमहरूले बन्दर अब्बासमा ठुला विस्फोटका आवाजहरू सुनिएको र आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका ४ जना सदस्य मारिएको उल्लेख गरेका छन्।
यो सैन्य आक्रमण यस्तो समयमा भएको छ, जब कतारको मध्यस्थतामा दुवै पक्षबिच युद्ध अन्त्य गर्ने प्रयास भइरहेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा धेरै विषयमा सहमति जुटे पनि सम्झौता तत्कालै भइहाल्ने अवस्था भने नरहेको प्रस्ट पारेका छन्।
भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि सम्झौता अझै सम्भव रहेको तर अन्तिम मस्यौदाको भाषा मिलाउन केही दिन लाग्ने बताए। राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्।
प्रस्तावित समझदारी पत्रमा ६० दिनको युद्ध विराम थप गर्ने, विश्वको २० प्रतिशत इन्धन ओसारपसार हुने महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउने बुँदाहरू समावेश छन्। ट्रम्पले इरानसँग रहेको ६० प्रतिशत सम्म संवर्द्धित युरेनियम नष्ट गरिनुपर्ने वा अमेरिकालाई बुझाउनुपर्ने अडान राखेका छन्।
अमेरिकी गुप्तचर निकायका अनुसार इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी अज्ञात स्थानमा लुकेका कारण आफ्ना दूतहरूसँग सञ्चार गर्न ढिलाइ हुँदा वार्ताको गति सुस्त भएको हो। गत फेब्रुअरी २८ देखि सुरु भएको यो युद्धका कारण विश्व बजारमा तेलको मूल्य अत्यधिक बढेको छ। अप्रिल ८ देखि लागू भएको युद्ध विरामका बिच यो नयाँ आक्रमणले शान्ति प्रक्रियालाई कता लैजान्छ भन्नेबारे सर्वत्र चासो बढेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको ट्रम्पको दाबी; इरानद्वारा ‘अड्कलबाजी मात्रै’ भएको टिप्पणी
- अमेरिका र इरानबिच पुनः भीषण आक्रमण सुरु: ट्रम्पद्वारा ‘कडा प्रहार’ गर्ने चेतावनी, स्ट्रेट अफ हर्म्युज बन्द
- विश्वकप २०२६ भिसा संकट: रेफ्री आर्टनदेखि इरानी अधिकारीहरूसम्म–को-को परे मारमा?
- फिलिपिन्समा शक्तिशाली भूकम्प: कम्तीमा ३५ जनाको मृत्यु
- फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- सेन्ट पिटर्सबर्गमा युक्रेनको ‘अभूतपूर्व’ ड्रोन आक्रमण
- युक्रेन युद्ध अन्त्यका लागि जेलेन्स्कीसँगको भेटवार्ता ‘निरर्थक’ छ: पुटिन
- जेलेन्स्कीद्वारा पुटिनलाई खुला पत्र: ‘युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ता गरौँ’
- उत्तर कोरियाको नयाँ आणविक संयन्त्र सार्वजनिक
- फिफाविरुद्ध अहिलेसम्मकै ठुलो उजुरी दिने अभियान सुरु