आईपीएल २०२६: गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी फाइनलमा प्रवेश

इन्डियन प्रिमियर लिग २०२६ को पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले गुजरात टाइटन्समाथि ९२ रनको सानदार जितसंगै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। धर्मशालाको हिमाचल प्रदेश क्रिकेट एसोसिएसन रङ्गशालामा भएको यस खेलमा बेंगलोरले कीर्तिमानी प्रदर्शन गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल तयार पारेको थियो। यो आईपीएल प्लेअफ इतिहासकै सबैभन्दा ठुलो स्कोर हो। आरसीबीका लागि कप्तान रजत पाटीदारले विस्फोटक ब्याटिङ गर्दै मात्र ३३ बलमा ९ छक्का र ५ चौकाको मद्दतले अविजित ९३ रनको कप्तानी पारी खेले। उनलाई मध्य क्रममा क्रुणाल पाण्ड्याले ४३ रन बनाएर राम्रो साथ दिए। ओपनर विराट कोहलीले ४३ रन र देवदत्त पडिक्कलले ३० रन जोड्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए। गुजरातका बलरहरू आरसीबीको ब्याटिङ आक्रमणसामु निरीह देखिए।२५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात टाइटन्सको सुरुवात निकै खराब रह्यो। आरसीबीका बलरहरूको कडा आक्रमणका कारण गुजरातले पावरप्लेमै ५ विकेट गुमाएर सङ्कटमा परेको थियो। कप्तान शुभमन गिल मात्र २ रनमा आउट भए भने इन-फर्म ब्याटर साइ सुदर्शन १४ रनमा पेभेलियन फर्किए। मध्य क्रमका ब्याटर राहुल तेवाटियाले ४३ बलमा ६८ रनको अर्धशतकीय र जुझारु पारी खेले तापनि त्यो जितका लागि पर्याप्त हुन सकेन। गुजरातको टोली १९.३ ओभरमा १६२ रनमा अलआउट हुन पुग्यो। आरसीबीका लागि बलिङतर्फ ज्याकब डफीले ३ विकेट र रशिख सलामले २ विकेट लिए।

यो विशाल जितसँगै साबिक विजेता आरसीबी लगातार दोस्रो पटक आइपिएलको फाइनलमा पुग्न सफल भएको छ। पराजित गुजरात टाइटन्सले भने फाइनल प्रवेशका लागि अब एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link