आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । नेपालको संविधान २०७२ को बाध्यात्मक व्यवस्था अनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान अनुरूप सरकारले आज नयाँ आयव्यय विवरण प्रस्तुत गर्न लागेको हो ।
आज अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा हुने बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैङ्कका गभर्नरलगायत उच्च अधिकारीहरूको सहभागिता रहने प्रचलन छ ।
गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल सरकारले यो आफ्नो पहिलो पूर्ण बजेट ल्याउन लागेकाले यसप्रति आम नागरिक र निजी क्षेत्रको विशेष चासो छ ।
यसअघि गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्मा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेको छ । सोही पारित नीति तथा कार्यक्रमकै जगमा बजेट आउन लागेको हो । बजेट प्रस्तुत गर्नुअघि बिहीबार अर्थमन्त्री डा. वाग्लेले राष्ट्रपति पौडेललाई शीतल निवास पुगेर आगामी बजेटबारे औपचारिक ब्रिफिङ समेत गरिसकेका छन् ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ (सीमा) तोकेको थियो । तर अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले यो सिलिङभन्दा ठुलो आकारको बजेट ल्याउने तयारी गरेको छ । विशेष गरी मध्यमवर्गलाई केन्द्रित गर्दै बजेटमा सुशासन, सुव्यवस्थित प्रणाली, पारदर्शिता र परिणाममुखी आयोजनाहरूलाई प्राथमिकता दिइएको बताइएको छ ।
चालू आर्थिक वर्षको मूल बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको भए तापनि गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत त्यसको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरेका थिए । यस पटक भने रास्वपा सरकारले आफ्नो नीति र वाचा पूरा गर्न जनअपेक्षा अनुरूपको रूपान्तरणकारी बजेट ल्याउने दाबी गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: पहिलो खेलमै अमेरिकाको शानदार सुरुवात, पाराग्वे ४–१ ले पराजित
- भौतिक पूर्वाधार बलियो तर कक्षाकोठा रित्तो
- कैलालीमा वन अतिक्रमण विरुद्ध ठुलो ‘एक्शन’
- मेटाको ह्वाट्सएपद्वारा एनएसओ ग्रुप विरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी
- पूर्ण खोप सुनिश्चिततातर्फ कालीकोट
- अब तनहुँमा पनि रुद्राक्ष पकेट क्षेत्र
- फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबिचकोखेल १-१ को बराबरीमा टुङ्गियो
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम
- फिफा विश्वकप २०२६: दोस्रो दिन सह-आयोजक क्यानडा र अमेरिका मैदानमा उत्रिँदै