संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज विश्वभर ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००२ मा स्थापना गरेको यस दिवसको यस वर्षको मुख्य नारा ‘शान्तिमा लगानी’ रहेको छ।
घट्दो स्रोतसाधनका बिच यो नाराले द्वन्द्व समाधानका लागि शान्ति स्थापना अझै पनि अन्तर्राष्ट्रिय समुदायसँग भएको सबैभन्दा प्रभावकारी माध्यम रहेको सन्देश दिन्छ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यु योर्क आगामी जुन ५ मा दिवसको मुख्य कार्यक्रम विशेष समारोहका साथ मनाइँदै छ। उक्त समारोहमा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त प्रतिष्ठित ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन्। सम्मानित हुनेमध्ये गत वर्ष (सन् २०२५) मा निधन भएका ५९ जना शान्ति सेना पनि रहेका छन्।
उक्त पदकबाट मरणोपरान्त सम्मानित हुनेहरूमा नेपालका दुई जना वीर सुरक्षाकर्मी समेत परेका छन्। सन् २०२५ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत रहँदा निधन भएका कर्पोरल सुरज लामिछाने तथा सन् २००० मा पूर्वी टिमोरमा सेवाका क्रममा निधन भएका सिपाही देवीराम जैसीलाई उक्त पदक प्रदान गरिने नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ।
नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने विश्वकै सबैभन्दा ठुलो मुलुक बनेको छ। हाल नेपालले ३६४ महिलासहित ४ हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारीहरू अबेई, मध्य अफ्रिकी गणतन्त्र, साइप्रस, कङ्गो लोकतान्त्रिक गणतन्त्र, कोसोभो, लेबनान, लिबिया, मध्यपूर्व, सोमालिया, दक्षिण सुडान तथा पश्चिमी सहारास्थित ११ वटा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानहरूमा परिचालन गरेको छ।
हाल विश्वका ११ वटा शान्ति स्थापना मिसनमा ११८ देशका ५१ हजारभन्दा बढी (५० हजारभन्दा बढी नागरिक, सैनिक तथा प्रहरी) कर्मचारीहरू कार्यरत छन्। द्वन्द्वहरू झन् विभाजित, दीर्घकालीन तथा डिजिटल उपकरणको दुरुपयोग र हानिकारक सूचनाको फैलावटजस्ता नयाँ चुनौतीबाट प्रभावित बन्दै गइरहेका जटिल परिस्थितिमा पनि शान्ति सेनाहरूले सेवा प्रदान गरिरहेका छन्।
सन् १९४८ यता शान्ति स्थापनाका क्रममा हिंसा, दुर्घटना तथा रोगका कारण झन्डै ४ हजार ५०० भन्दा बढी शान्ति सैनिक, प्रहरी तथा नागरिक कर्मचारीले ज्यान गुमाइसकेका छन्। राष्ट्रसङ्घका अनुसार लाइबेरिया, नामिबिया, कम्बोडिया, सियरा लियोन र टिमोर–लेस्टेलगायत द्वन्द्व प्रभावित मुलुकमा शान्ति सैनिकको उपस्थितिले दीर्घकालीन शान्ति स्थापना तथा सामाजिक पुनर्निर्माणमा महत्त्वपूर्ण योगदान पुगेको छ।
दिवसका अवसरमा सन्देश जारी गर्दै महासचिव एन्टोनियो गुटेरेसले शान्ति सेनामाथिका आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन्। उनले भनेका छन्:
“तनाव बढिरहेको यस समयमा शान्ति स्थापना स्थायित्व र आशा पुनः स्थापित गर्ने प्रमाणित तथा लागत–प्रभावकारी उपाय हो। तर यसका लागि सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो वित्तीय सहयोग आवश्यक हुन्छ।”
त्यस्तै, शान्ति अभियानसम्बन्धी उपमहासचिव जाँ–पियरे लाक्र्वाले शान्ति स्थापनामा लगानी गर्नु भनेको स्थायित्व, रोकथाम र शान्तिको सम्भावनामै लगानी गर्नु भएको उल्लेख गरेका छन्।
विशेष समारोहका क्रममा महासचिव गुटेरेसले ‘असाधारण साहसका लागि क्याप्टेन म्बाये डियाग्ने पदक’ उरुग्वेका कर्पोरल माटियास रेयेस र युक्रेनका स्वर्गीय सर्गी प्राइकोडकोलाई प्रदान गर्नेछन्। त्यस्तै, सन् २०२५ का लागि ‘वर्षकै उत्कृष्ट सैन्य लैङ्गिक पक्षधर’ पुरस्कार लेबनानमा कार्यरत भारतकी मेजर अभिलाषा बराकलाई तथा ‘वर्षकै उत्कृष्ट महिला प्रहरी अधिकारी’ पुरस्कार दक्षिण सुडानमा कार्यरत जर्मनीकी स्टेफानी कोनिग्सलाई प्रदान गरिने राष्ट्रसङ्घले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: पहिलो खेलमै अमेरिकाको शानदार सुरुवात, पाराग्वे ४–१ ले पराजित
- भौतिक पूर्वाधार बलियो तर कक्षाकोठा रित्तो
- कैलालीमा वन अतिक्रमण विरुद्ध ठुलो ‘एक्शन’
- मेटाको ह्वाट्सएपद्वारा एनएसओ ग्रुप विरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी
- पूर्ण खोप सुनिश्चिततातर्फ कालीकोट
- अब तनहुँमा पनि रुद्राक्ष पकेट क्षेत्र
- फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबिचकोखेल १-१ को बराबरीमा टुङ्गियो
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम
- फिफा विश्वकप २०२६: दोस्रो दिन सह-आयोजक क्यानडा र अमेरिका मैदानमा उत्रिँदै