युरोपेली फुटबलको महाकुम्भ: च्याम्पियन्स लिग फाइनल २०२६ मा पिएसजी र आर्सनल भिड्दै

युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो र प्रतिष्ठित प्रतियोगिता, युइएफए च्याम्पियन्स लिगको फाइनल खेल आज हुँदैछ। हंगेरीको बुडापेस्टस्थित पुस्कास एरेनामा हुने यस ऐतिहासिक भिडन्तमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट-जर्मेन र इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनल आमनेसामने हुँदै छन्। नेपाली समय अनुसार आज राति पौने १० बजे सुरु हुने छ।

आज दुवै टोली आ-आफ्नो घरेलु लिग उपाधि जितेर उच्च मनोबलका साथ मैदानमा उत्रिँदै छन्। सन् २०२० पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा दुवै टोली आ-आफ्नो देशको आन्तरिक लिग च्याम्पियन बनेर आएका हुन्, जसले यो खेललाई अझ विशेष बनाएको छ।

फाइनलसम्मको यात्रा

यस सिजनको च्याम्पियन्स लिगको नयाँ संरचनामा दुवै टोलीले कठिन चुनौतीहरू पार गर्दै फाइनलको टिकट पक्का गरेका हुन्।

आर्सनलको अपराजित जस्तै यात्रा: आर्सनलले यो सिजन लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेर सोझै नकआउट चरणमा प्रवेश गरेको थियो। मिकेल आर्टेटाको टोलीले राउन्ड अफ १६ मा बायर लेभरकुजेनलाई ३-१ ले, क्वार्टरफाइनलमा स्पोर्टिङ सीपीलाई १-० ले र सेमिफाइनलमा एथ्लेटिको म्याड्रिडलाई रोमाञ्चक खेलमा २-१ को एग्रिगेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

पिएसजीको पुनरागमन: डिफेन्डिङ च्याम्पियन पिएसजीको यात्रा भने केही उतारचढावपूर्ण रह्यो। लिग चरणमा ११ औँ स्थानमा चित्त बुझाएपछि उसले प्ले-अफ खेल्नुपरेको थियो। प्ले-अफमा मोनाकोलाई ५-४ ले हराएपछि लुइस एनरिकेको टोलीले लय समात्यो। त्यसपछि पिएसजीले राउन्ड अफ १६ मा चेल्सीलाई ८-२ को भारी अन्तरले, क्वार्टरफाइनलमा लिभरपुललाई ४-० ले र सेमिफाइनलमा बायर्न म्युनिखलाई ६-५ को निक्कै रोमाञ्चक गोल अन्तरले पन्छाउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गर्‍यो।

च्याम्पियन्स लिगमा इतिहास 

इतिहासलाई हेर्ने हो भने पिएसजी यो प्रतियोगितामा आर्सनलभन्दा बढी अनुभवी देखिएको छ।

पिएसजी: यो पिएसजीको समग्रमा तेस्रो र लगातार दोस्रो च्याम्पियन्स लिग फाइनल हो। सन् २०२० को फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको पिएसजीले गत वर्ष (२०२५) को च्याम्पियन्स लिग उपाधि जितेर इतिहास रचेको थियो। आज पिएसजी आफ्नो उपाधि रक्षा गर्ने दाउमा छ। तीन पटक फाइनल पुग्ने पिएसजी पहिलो फ्रान्सेली क्लब समेत बनेको छ।

आर्सनल: आर्सनलको हकमा भने यो इतिहासकै दोस्रो च्याम्पियन्स लिग फाइनल मात्र हो। यसअघि सन् २००६ मा आर्सनल फाइनल पुगेको थियो, जहाँ उसले बार्सिलोनासँग हार बेहोर्नु परेको थियो। युरोपको सबैभन्दा ठुलो ट्रफी अहिलेसम्म जित्न नसकेको आर्सनल आज नयाँ इतिहास कोर्ने दाउमा मैदान उत्रिनेछ।

खेलाडीहरूको  अवस्थाखेलको रणनीति तय गर्न दुवै टोलीका म्यानेजरहरूलाई खेलाडीको चोटले केही सताएको भए पनि मुख्य खेलाडीहरू मैदानमा देखिने सम्भावना बलियो छ।

पिएसजी: फ्रान्सेली टोलीका लागि राहतको खबर छ। लिगको अन्तिम खेलमा चोटका कारण मैदान बाहिरिएका स्टार विङ्गर ओस्मान डेम्बेलेले आफू पूर्ण रूपमा फिट भएको र खेल्न तयार रहेको बताएका छन्। चोटको आशङ्का गरिएका अचराफ हाकिमी र नुनो मेन्डिस पनि प्रशिक्षणमा फर्किसकेका छन्। पिएसजीको टोलीमा हाल कुनै पनि मुख्य खेलाडी प्रतिबन्ध वा गम्भीर चोटका कारण बाहिर छैनन्।

आर्सनल: आर्सनलका लागि भने डिफेन्डर बेन ह्वाइटको घुँडाको चोट मुख्य टाउको दुखाइ बनेको छ। उनी आजको खेलमा उपलब्ध हुने छैनन्। उनको अनुपस्थितिमा जुरियन टिम्बरले डिफेन्स सम्हाल्ने छन्। तर, मुख्य मिडफिल्डर मार्टिन ओडेगार्ड र स्टार विङ्गर बुकायो साका पूर्ण रूपमा फिट छन्।

टोलीको सम्भावित रणनीति 

दुवै टोली रणनीतिक रूपमा बलिया छन् र आ-आफ्नो शैलीका लागि चिनिन्छन्।

पिएसजीको रणनीति: लुइस एनरिकेले पिएसजीलाई आक्रामक र पोसेसन-बेस्ड फुटबल खेलाउने छन्। भिटिन्हा र जोआओ नेभेसले मिडफिल्ड नियन्त्रण गर्दा, अगाडि डेम्बेले र भारात्स्केलियाको गति र क्रस आर्सनलका लागि खतरनाक बन्न सक्छ।

पिएसजीको सम्भावित ११: साफोनोभ; हाकिमी, मार्किन्होस, विलियान पाचो, नुनो मेन्डिस; जाइरे-एमरी, भिटिन्हा, जोआओ नेभेस; ड्यु, डेम्बेले, कभारात्स्केलिया।

आर्सनलको रणनीति: मिकेल आर्टेटाले ‘हाइ-प्रेसिङ’ र सन्तुलित डिफेन्सलाई जोड दिनेछन्। विलियम सलिबा र ग्याब्रिएलको बलियो डिफेन्स लाइन पिएसजीका फरवार्डहरूलाई रोक्न सक्षम छ। मिडफिल्डमा डेक्लेन राइस र ओडेगार्डको जोडीले खेलको गति तय गर्नेछ भने स्ट्राइकर भिक्टर ग्योकेरेस माथि गोल गर्ने मुख्य जिम्मेवारी हुनेछ।

आर्सनलको सम्भावित ११: राया; टिम्बर, सलिबा, ग्याब्रिएल, कालाफियोरी; राइस, लुइस-स्केली, ओडेगार्ड; साका, ग्योकेरेस, ट्रोसार्ड।

कसको पल्ला भारी?

खेल विश्लेषकहरू र तथ्याङ्क अनुसार आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। स्पोर्ट्स डाटा अनुसार डिफेन्डिङ च्याम्पियन पिएसजीको जित्ने सम्भावना ३९.९% देखिएको छ भने आर्सनलको जित्ने सम्भावना ३१% रहेको छ। खेल निर्धारित समयमा बराबरी हुने सम्भावना २९.१% छ।

विगतको रेकर्ड हेर्दा सन् २०२५ को सेमिफाइनलमा पिएसजीले आर्सनललाई दुवै लेगमा (१-० र २-१) पराजित गरेको थियो, जसले पिएसजीलाई मनोवैज्ञानिक लाभ दिनेछ। तर आर्सनल यस पटक निकै सन्तुलित र भोको टोलीको रूपमा देखिएकाले उसलाई कमजोर आँक्न मिल्दैन।

समग्रमा पिएसजी आफ्नो निरन्तरता र च्याम्पियन्स लिगको अनुभवका कारण आजको फाइनलमा सामान्य रूपमा अगाडि देखिए पनि आर्टेटाको रणनीतिक आर्सनलले कडा टक्कर दिने निश्चित छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link