इरान संकट: ह्वाइट हाउसको बैठक विना निष्कर्ष टुङ्गियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम विस्तार गर्ने रूपरेखा (फ्रेमवर्क) माथि ‘अन्तिम निर्णय’ लिन आफ्ना शीर्ष सल्लाहकारहरूसँग ह्वाइट हाउसको सिचुएसन रुममा एक उच्चस्तरीय बैठक गरेका छन्। तर, झन्डै दुई घण्टा चलेको उक्त बैठक आगामी कदमबारे कुनै स्पष्ट निष्कर्षविना नै सकिएको छ।

बैठकपछि राष्ट्रपति ट्रम्पले आफ्ना कडा ‘रेडलाइन’हरू दोहोर्‍याउँदै इरानले कहिल्यै पनि आणविक हतियार वा बम नबनाउने प्रतिबद्धता जनाउनुपर्ने सर्त राखेका छन्। यसका साथै, रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ लाई दुवैतर्फबाट ‘अबाधित ढुवानी’का लागि खुला गरिनुपर्ने र उक्त जल क्षेत्रमा बिछ्याइएका सबै समुद्री सुरुङहरू नष्ट गरिनुपर्ने अडान उनले राखेका छन्। ह्वाइट हाउसका एक अधिकारीका अनुसार, “राष्ट्रपति ट्रम्पले अमेरिकाको हित अनुकूल र आफ्ना सर्तहरू पूरा हुने गरी मात्र सम्झौता गर्नेछन्।”

यसअघि बिहीबार मात्रै दुवै देशका वार्ताकारहरू एक सम्झौताको रूपरेखामा सहमत भएका थिए। जसलाई ट्रम्प र इरानको शीर्ष नेतृत्वले अन्तिम स्वीकृति दिन बाँकी छ। मिडिया रिपोर्टहरूका अनुसार यस सम्झौताले हाल जारी युद्ध विरामलाई थप ६० दिनका लागि लम्ब्याउने र इरानको आणविक कार्यक्रमको भविष्यबारे औपचारिक वार्ता सुरु गर्ने लक्ष्य राखेको छ।

गएको अप्रिल ८ देखि लागू भएको यस अस्थायी युद्धविरामपछि ट्रम्पले दुवै देश सम्झौताको नजिक पुगेको दाबी गर्दै आए पनि हालसम्म कुनै ठोस परिणाम भने आउन सकेको छैन। ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन तयार रहेको र जल क्षेत्रमा रोकिएका जहाजहरूलाई घर फर्कने प्रक्रिया सुरु गर्न दिने बताएका थिए। तर, यसका लागि इरानले आफ्नो संवर्द्धित युरेनियम नष्ट गर्न दिनुपर्ने उनको जिकिर छ। ट्रम्पले लेखेका छन्, “अर्को सूचना नभएसम्म कुनै पनि पैसा लेनदेन हुने छैन। अन्य कम महत्त्वका विषयहरूमा सहमति भइसकेको छ।”

ट्रम्पको यस भनाइप्रति इरानले तीव्र असन्तुष्टि जनाएको छ। इरानको ‘फर्स न्युज एजेन्सी’ले सरकारी स्रोतलाई उद्धृत गर्दै ट्रम्पका दाबीहरू “सत्य र झुटको मिश्रण” भएको टिप्पणी गरेको छ। उक्त एजेन्सीका अनुसार समझदारी पत्रको मस्यौदामा आणविक सामग्री नष्ट गर्ने वा निःशुल्क जहाज ओसारपसार गर्न दिने कुनै पनि प्रावधान उल्लेख छैन।

त्यस्तै, इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सरकारी टेलिभिजनमार्फत इरानको ध्यान केवल “युद्धको अन्त्य” मा केन्द्रित रहेको र आणविक मुद्दामा कुनै पनि वार्ता नभइरहेको प्रस्ट पारेका छन्। अमेरिकाले लामो समयदेखि इरानलाई अत्यधिक संवर्द्धित युरेनियम उत्पादन रोक्न र मौज्दात नष्ट गर्न दबाब दिँदै आएको छ, जुन आणविक हतियार बनाउन प्रयोग हुन सक्छ। यद्यपि, इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ।

यसैबिच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताकारहरू ‘युरेनियम संवर्द्धन’को भाषा र केही बुँदाहरूमा छलफल गरिरहेको बताएका छन्। उनले भने, “हामी अझै अन्तिम बिन्दुमा पुगिसकेका छैनौँ, तर हामी निकै नजिक छौँ र यसका लागि काम गरिरहनेछौँ।”

यता इरानका मुख्य वार्ताकार मोहम्मद बकर कालिबाफले भने अमेरिकाको आश्वासन वा शब्दमा आफ्नो देशलाई कुनै विश्वास नभएको र केवल व्यवहारलाई मात्र हेरिने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अर्को पक्षले कदम नचालेसम्म इरानले कुनै कदम चाल्ने छैन। सम्झौताको वास्तविक विजेता त्यही हुनेछ, जो सम्झौता हस्ताक्षर भएको भोलिपल्टै युद्धका लागि बढी तयार रहन्छ।”

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो। जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र अमेरिकी सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्नुका साथै ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरिदिएको थियो। विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति हुने यो जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको छ।

पछिल्ला दिनहरूमा दुवै देशले एक अर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्। बिहीबार मात्रै इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ले कुवेतमा रहेको अमेरिकी वायुसेनाको अखडालाई निशाना बनाएको थियो। इरानका अनुसार उक्त अखडाबाटै इरानी बन्दरगाह सहर ‘बन्दर अब्बास’ मा आक्रमण गरिएको थियो। अमेरिकी सेन्ट्रल कमान्डले कुवेतमा भएको उक्त आक्रमणलाई युद्ध विरामको “गम्भीर उल्लङ्घन” भनी निन्दा गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link