पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ। यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन्।
नेपालगन्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम) मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी पसिना चुहाउँदै पढ्न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, पङ्खाको अभावमा साना बालबालिकाको स्वास्थ्य र पढाइ दुवै प्रभावित भएको विद्यालयका शिक्षकहरू बताउँछन्। अत्यधिक गर्मीको मौसममा पटकपटक विद्युत् अवरुद्ध हुने समस्याले टिनको छानामुनिको पढाइ सकसपूर्ण बनेको छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढाउने गरेका छन्।
गर्मीका कारण विद्यार्थी पटकपटक पानी खान जाने, टाउको दुख्ने, थकान हुनेजस्ता समस्या देखिने गरेको नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित आदर्श माविका शिक्षिका हीरा गौतमले बताइन्। डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय शाहपुर्वाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगन्ज–१० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ।
विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उनीहरूको भनाइ छ। टिनका छानामा एउटा कक्षाकोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। वर्षायाममा पानी पर्दा टिनका पाताले ठूलो आवाज निकाल्ने भएकाले पढाइमा थप अवरोध हुने शिक्षकहरूको भनाइ छ।
तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन राखेको छ। तर नेपालगन्जको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउँछन्।
नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महशाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र नयाँ भवनहरू टिनका नबनेको बताए। उनले भने, “यसलाई दीर्घकालीन बनाउन नीति बनाउने काम अझै हुन सकेको छैन।”
जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र बाताअनुकूलित वातावरणमा बसिरहेका बेला निम्न आय भएका परिवारका बालबालिका भने अझै टिनको छानामुनि गर्मीसँग सङ्घर्ष गर्दै पढ्न बाध्य भएको अभिभावकहरूको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: पहिलो खेलमै अमेरिकाको शानदार सुरुवात, पाराग्वे ४–१ ले पराजित
- भौतिक पूर्वाधार बलियो तर कक्षाकोठा रित्तो
- कैलालीमा वन अतिक्रमण विरुद्ध ठुलो ‘एक्शन’
- मेटाको ह्वाट्सएपद्वारा एनएसओ ग्रुप विरुद्ध अदालतको अवहेलना मुद्दा हाल्ने तयारी
- पूर्ण खोप सुनिश्चिततातर्फ कालीकोट
- अब तनहुँमा पनि रुद्राक्ष पकेट क्षेत्र
- फिफा विश्वकप २०२६: क्यानडा र बोस्नियाबिचकोखेल १-१ को बराबरीमा टुङ्गियो
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम
- फिफा विश्वकप २०२६: दोस्रो दिन सह-आयोजक क्यानडा र अमेरिका मैदानमा उत्रिँदै