रौतहटमा नयाँ अभ्यास: घरघरमै राहदानी!

जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पुर्‍याउने सेवा सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच गत वैशाख २४ गते भएको सम्झौतापछि पहिलो चरणमा २१ राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण अभियान सुरु गरिएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधबार गौर नगरपालिका-२ महादेवपट्टिस्थित सेवाग्राही राजु राम र विकास पासवानको घरमा पुगेर राहदानी हस्तान्तरण गरेका हुन्। राहदानी हस्तान्तरण गदै प्रजिअ भुसालले सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको बताएका छन्।

राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनाका साथै समय र खर्च बचत हुने प्रजिअ भुसालले बताए। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा राहदानी वितरण प्रणालीलाई थप सहज बनाउँदै अब सेवाग्राहीले घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको प्रजिअ भुसालको भनाइ छ।

घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप रु. ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले जानकारी दिएका छन्।

उनका अनुसार पुराना तथा वितरण हुन बाँकी रहेका पासपोर्टहरूसमेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत नागरिकको घरमै पुर्‍याउने तयारी भइरहेको छ। ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि यो कार्य उपयोगी हुने कार्यालय प्रमुख यादवले बताए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link