नेपालगन्ज भन्सार: दस महिनामा ६८.२ प्रतिशत मात्र राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए। उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती छ।

भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व संकलन हुन सकेको छैन। तर पछिल्लो दुई महिना चैत र वैशाखमा भने राजस्व संकलन बढेको छ। चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ। गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व संकलन गरेको प्रमुख पौडेलले बताए।

नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको प्रमुख पौडेलको भनाइ छ। नेपालगन्ज भन्सारमा चालु आवको साउन महिनामा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रु एक अर्ब ९३ लाख ६४ हजार लक्ष्य रहेकामा ६९.७७ प्रतिशत अर्थात् रु एक अर्ब ३५ करोड १० लाख नौ हजार संकलन भएको छ।

त्यसैगरी, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७.८३ प्रतिशत अर्थात् रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२.३० प्रतिशत अर्थात् रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३.४५ प्रतिशत अर्थात् रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार तथा पुसमा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार संकलन भएको छ।

यस्तै माघमा ८८.२४ प्रतिशत रहेकामा रु एक अर्ब ७० करोड एक लाख ८२ हजार, फागुनमा रु एक अर्ब ९३ करोड ३८ लाख १९ हजार लक्ष्य रहेकामा ८८.३२ प्रतिशत अर्थात् रु एक अर्ब ९३ करोड, ३८ लाख १९ हजार, चैतमा रु दुई अर्ब १७ करोड ८१ लाख ९६ हजार लक्ष्य रहेकामा ९८.३७ प्रतिशत अर्थात् रु दुई अर्ब १४ करोड, २५ लाख ५४ हजार र वैशाखमा रु दुई अर्ब १५ करोड ८५ लाख दुई हजार लक्ष्य रहेकामा ८५.३८ प्रतिशत अर्थात् रु एक अर्ब ८४ करोड, २८ लाख २१ हजार संकलन भएको प्रमुख पौडेलले बताए।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत, फागुनमा ७३.६८ प्रतिशत, चैतमा ८२.५४ प्रतिशत र वैशाखमा ७७.७२ प्रतिशत राजस्व संकलन भएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link