युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस-युक्रेन युद्ध अन्त्यको नयाँ प्रयास स्वरूप रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष (फेस-टु-फेस) वार्ताको आह्वान गरेका छन्। रुसी राष्ट्रपतिलाई सम्बोधन गर्दै लेखिएको एक खुला पत्रमा जेलेन्स्कीले युरोपको युद्धतर्फ अमेरिकी ध्यान पुनः नमोडिएसम्म “केवल पर्खेर बस्नु गलत हुने” उल्लेख गर्दै शान्ति स्थापना दुई देशबिचको सीधा संवादबाट मात्र सम्भव भएको बताएका छन्।
जेलेन्स्कीले वार्ता अवधिभर पूर्ण युद्ध विरामको प्रस्ताव समेत गरेका छन्, जसलाई पुटिनले बिहीबार नै अस्वीकार गरिसकेका छन्।
यस खुला पत्रमा युक्रेनले पहिलो पटक सार्वजनिक रूपमा अमेरिकाको ध्यान पूर्ण रूपमा इरान मामिलामा केन्द्रित भएको स्वीकार गरेको छ। जेलेन्स्कीले लेखेका छन्, “अमेरिकाको ध्यान पुनः युरोपको युद्धतर्फ नफर्किएसम्म हामीले चुपचाप पर्खेर बस्नु गलत हुनेछ।”
१८०० भन्दा बढी शब्दको यस पत्रमा जेलेन्स्कीको टोन आक्रामक र केही हदसम्म व्यङ्ग्यात्मक समेत देखिन्छ। रुसभित्र युक्रेनले भर्खरै गरेका आक्रमणहरूलाई स्मरण गराउँदै उनले पुटिनलाई लक्षित गरी भनेका छन्, “२६ वर्षसम्म सत्तामा रहँदा अब उमेरको असर देखिन थालेको छ।” उनले पुटिनलाई युद्धबाट बाहिर निस्कने बाटो रोज्न नडराउन समेत आग्रह गरेका छन्। जेलेन्स्कीले प्रत्यक्ष वार्ताका लागि स्विट्जरल्याण्ड वा टर्की जस्ता देशहरू उपयुक्त हुन सक्ने प्रस्ताव गरेका छन्।
सेन्ट पिटर्सबर्गमा आयोजित एक आर्थिक मञ्चका क्रममा विदेशी पत्रकारहरूसँग कुरा गर्दै रुसी राष्ट्रपति पुटिनले आफू युक्रेनसँग सम्झौता गर्न “निश्चय नै तयार र इच्छुक” रहेको बताए। तर, त्यसका लागि सम्झौताहरू हुनुपर्ने उनको सर्त छ। पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान मामिलामा व्यस्त रहेको मौका छोपी युरोपेली सङ्घले जेलेन्स्कीलाई भूभाग छोड्नका लागि फकाउन सक्ने सङ्केत गरे।
रुसले युक्रेनका चार क्षेत्रहरू—डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझियाबाट युक्रेनी सेना हट्नुपर्ने र युक्रेनले नेटोको सदस्यता लिने प्रयास त्याग्नुपर्ने अडान राख्दै आएको छ। युक्रेनले भने आफ्नो भूभाग त्याग्न स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताहरूबिच भेटवार्ता हुनु “उत्कृष्ट हुने” प्रतिक्रिया दिएका छन्। ट्रम्पले अमेरिकाले दुवै देशलाई शान्तिको नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्दै भने, “म चाहन्छु कि दुवै पक्षले केही सम्झौता गरून् र उनीहरूले त्यसो गर्नेछन् भन्ने मलाई विश्वास छ।”
क्रेमलिन (रुसी राष्ट्रपतिको कार्यालय) ले जेलेन्स्कीको पत्र प्राप्त भएको र यसबारे पुटिनलाई जानकारी गराइने पुष्टि गरेको छ। तर, पुटिनले जेलेन्स्कीको वैधानिकतामाथि नै प्रश्न उठाउँदै भनेका छन्, “मिस्टर जेलेन्स्की युक्रेनका वैध प्रतिनिधि हुन् कि होइनन्, यो वकिलहरू र कानुनी विश्लेषणको विषय हो।”
यो पत्र आदानप्रदान भएकै दिन पनि दुवै देशबिच सैन्य आक्रमण जारी रहे। युक्रेनले सेन्ट पिटर्सबर्गको बाहिरी इलाकामा ड्रोन आक्रमण गरेको थियो, जसलाई जेलेन्स्कीले पत्रमा “भ्रमण गरेको” भनी व्यङ्ग्य गरेका छन्। अर्कोतर्फ, रुस नियन्त्रित क्रिमियाको सिमफेरोपोलमा युक्रेनी आक्रमणका कारण चार जनाको मृत्यु भएको रुसले दाबी गरेको छ भने युक्रेनले आफूले इन्धन डिपोलाई मात्र निशाना बनाएको बताएको छ।
युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिहाले यो खुला पत्र युद्ध अन्त्यका लागि एक गम्भीर र अर्थपूर्ण प्रस्ताव भएको बताउँदै रुसबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरिएको जनाएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- विश्वव्यापी तापक्रममा नयाँ रेकर्ड: ‘हिट वेभ’ को चपेटामा उत्तरी गोलार्ध, वातावरणीय सङ्कट गहिरिँदो
- मोदीद्वारा इन्डो-प्यासिफिक क्षेत्रका साझेदारहरूसँग सम्बन्ध बिस्तार
- फेसबुक र इन्स्टाग्रामको ‘लत बसाल्ने डिजाइन’ डिजिटल सेवा ऐन विपरीत: युरोपेली आयोग
- विकासोन्मुख देशहरूले शिक्षामा भन्दा बढी खर्च वैदेशिक ऋण तिर्नमा लगाउँदै-राष्ट्रसङ्घ प्रतिवेदन
- भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ३,८८९ पुग्यो, महामारीको जोखिम बढ्दै
- हर्मुज तनाव: ट्याङ्करहरूमाथि आक्रमण भएपछि इरानमाथि अमेरिकी शक्तिशाली हमला
- जापानमा विदेशी नागरिकमाथि हुने विभेदको इतिहास खोतल्दै वृत्तचित्र ‘नाउ एन्ड देन’
- पोर्चुगलमा भिषण डढेलो: १३ हजार हेक्टर वन क्षेत्र सखाप, नियन्त्रणका लागि युरोपेली देशहरूको सहयोग
- युरोपमा अत्यधिक गर्मीको लहर: फ्रान्समा मात्रै २,०२५ मानिसको मृत्यु, थप कडा मौसमको चेतावनी
- भेनेजुएलामा विनाशकारी भूकम्प: मृतकको सङ्ख्या २,२०० नाघ्यो, सरकारी सुस्तताले सङ्कट थप चर्कियो